हेटौंडा : यतिबेला अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी बागमती प्रदेशको राजधानी हेटौंडामा छन्। आज आइतबारदेखि औपचारिक रुपमा हेटौंडामा संचालित ‘प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला २०८०’मा सहभागी हुन भुवन हेटौंडा पुगेका हुन्।
कार्यक्रमको विशिस्ट अतिथि रहेका भुवनले नेपाली सिनेमाको बारेमा गहिरो चिन्ता व्यक्त गरे। उद्घाटन समारोहको मन्तव्यका क्रममा बोल्दै उनले भने, ‘नेपाली सिनेमा नरहे हामी कहाँ रहौँला ? नेपाली सिनेमा नरहे म कलाकार कहाँ रहुँला ? हाम्रो सिनेमा जगत कहाँ रहला ?’
भुवनले चिन्ता मात्र व्यक्त गरेनन्, उनले सिनेमा क्षेत्रले फस्टाउँदो गति नलिएको कारण चाहिँ ‘सिनेमा ऐन’को अभाव रहेको बताए। हाल नेपाल सरकारसँग ‘सिनेमा ऐन’ लागु गर्ने प्रक्रियामा रहेको पनि भुवनले बताए।
उद्घाटन समारोहमा उपस्थित सिनेमा पत्रकारहरुलाई देख्दा परिवार ठुलो भएको महशुस गरेको पनि भुवनले उद्घोष गरे। आफूले सिनेमा यात्रा सुरु गर्दा सिने पत्रकारहरुको निकै अभाव रहेकोले सिनेमाको प्रचारप्रसारमा कठिनाइ भोग्नुपरेको पनि भुवनले अनुभव सुनाएका थिए।