नेपालगन्ज : यतिबेला हलमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ प्रदर्शनरत छ। चलचित्रले हलमा राम्रै व्यापार गरिरहेको छ। प्रदर्शन भएदेखि ४ दिनसम्म चलचित्रले करिब २ करोडको ग्रस कलेक्सन पनि गरिसकेको छ। दर्शकले पनि चलचित्रलाई उत्तिकै साथ दिइरहेका छन्।
यसैबीच, दर्शकसँग बसेर चलचित्र हेर्ने अनि दर्शकको मुखबाट चलचित्रको प्रतिक्रिया लिने उद्देश्यले ‘परदेशी २’का कलाकारहरु यतिबेला नेपालगन्ज आइपुगेका छन्। चलचित्रका मुख्य नायक प्रकाश सपुत, नायिका केकी अधिकारी, वर्षा शिवाकोटी, चलचित्रका मिडिया कोअर्डिनेटर कुमार आचार्य र चलचित्र पत्रकार सुरेन्द्र थापाको टिम बुधबार बिहानै नेपाल आइपुगेको हो।
बुधबार प्रकाश, केकी र वर्षाले नेपालगन्जको ‘क्युएफएक्स बागेश्वरी’ र ‘सिने रोयल’ हलमा गएर दर्शकसँगै बसेर ‘परदेशी २’ हेर्ने र नेपालगन्जका दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिने तालिका रहेको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए।
दर्शकसँग साक्षात्कार गर्ने मनसायले मोफसल टुरमा निस्केको ‘परदेशी २’ टिम यसअघि चितवन र बुटवलका विभिन्न चलचित्र हलहरुमा पुगिसकेको छ।
यो चलचित्र हेर्नेको संख्या दिनानुदिन बढिरहेको छ। नारायण रायमाझी निर्देशित चलचित्रमा रमेश बिजीको कथा रहेको छ। नारायण रायमाझी र राजेश वंशलले संयुक्तरूपमा यो चलचित्र निर्माण गरेका हुन्।
प्रकाश, केकी र वर्षाका अलावा दिलिप रायमाझी, प्रशान्त तामाङ, रमा थपलिया, देवेन्द्र बब्लु, नीर शाह, रोश्नी कार्की लगायतका कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ। मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।