काठमाडौं : जेलबाट निस्केपछि केही दिनअघि अभिनेता पल शाहले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरे। चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको फिमेल भर्सनबाट पलले झन्डै डेढ वर्षपछि कमब्याक गरे। तर पललाई सुखद प्रतिक्रिया भने मिलेन।
यतिबेला पलको चर्को आलोचना भइरहेको छ। आफ्नो कथा देखाएको भन्दै धेरैले गाली समेत गरिरहेका छन्। उनले पेजमा सेयर गरेको गीतको युट्युब लिंकमुनि गएर हेर्ने हो भने सकारात्मक भन्दा नकारात्मक कमेन्ट औधी भेट्न सकिन्छ। “के के न होला भनेको त आफ्नै कथा पो रैछ, थैट”- भन्नेहरु धेरै छन्।
त्यस्तै, “जेल गएको सिन त देखियाे तर के कारणले जेल गएकाे भन्ने चाहिँ बुझिएन। त्यो पनि बुझ्ने गरि भिडियो बनाएकाे भए दर्शक झन छर्लङ्ग हुन्थिए कि”- भनेर एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्। विशेषगरी त घटना अघिको दृश्य खोइ भनेर पललाई धेरै कमेन्ट गरेका छन्।
बिर्सिन लागेको घटनालाई फेरि आफ्नै म्युजिक भिडियोमा उतारेर दर्शकको सहानुभूति बटुल्न खोजेको पललाई आरोप छ। तर पलले भने यस् विषयमा फरक मत राखेका छन्।
शुक्रबार एक अवार्ड कार्यक्रममा मिडियाकर्मीसँग बोल्दै भिडियोमा देखाइएको कथा आफ्नो नभएको पलले बताएका हुन् । भिडियोमा देखाइएको कथा त हाल जेलभित्र रहेका २८ हजार कैदीबन्दीको रहेको पलको तर्क छ। जेलभित्र रहेका कैदीहरुलाई नै भिडियो समर्पित गरेको उनले ठोकुवा गरेका छन्।
तर भिडियोमा भने पलले आफ्नै वास्तविक कहानीलाई देखाएको धेरैको टिप्पणी छ। वास्तविक जीवनमा झैं भिडियोमा पनि पल केही कारणले जेल जान्छन् र झन्डै एक वर्षपछि रिहा हुन्छन्। बिहीबार पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा उनले आफ्नै कैदी जीवनदेखि रिहाईसम्मको घटना देखाएका छन् । एक घटनाका कारण पल गत वर्षको फागुन १५ गते १ वर्ष जेल जीवन विताएर फर्केका हुन् ।
उनकै बाटो हेरेर पलकी प्रेमीकाले बाटो कुरेर बसेकि हुन्छिन्। पल जेलमा हुँदा उनकी प्रेमिकाले विभिन्न मठ मन्दिरमा गएर पूजा गर्छिन् । जब पल जेलबाट निस्किन्छिन्, तब खुशी हुँदै पलकी प्रेमिका अंगालोमा बाँधिएर रुन्छिन् । भिडियोको हेर्दा पल र पललाई जबर्जस्ति करणीको मुद्दा दायर गर्ने नाबालिक गायिकाको वास्तविक कथा दर्शकलाई आँखा अगाडि झलझली आउँछ।
भिडियोमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ । फिल्मी शैलीमा तयार भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी रहेका छन्।
भिडियोमार्फत पलले न्यायपालिकाप्रति सम्मान व्यक्त गरेका छन् । भिडियोको अन्तिममा लेखिएको छ, ‘नेपालमा झन्डै २८ हजार कैदीबन्दी कारागारमा रहेका छन् । कोही दोषी नउम्किउन् । कोही निर्दोष नफसुन् । स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो उच्च सम्मान ।’ जेलबाट रिहा भएपछि पलको यो पहिलो म्यूजिक भिडियो हो । यो गीतको मेल भर्सनमा पनि उनकै निर्देशन र अभिनय थियो ।
पलले करिब १० दिन लगाएर यो गीतको छायांकन सकाएका हुन् । गीतको अडियो पक्ष सुन्दर छ । भिडियोमा मिहिनेत देखिन्छ । पलले कथामा बुनेर गीत तयार पारेका छन्, जुन प्रशंसनीय छ । गीतको कमेन्टमा प्रायःले आफ्नै कथामा आधारित भएर भिडियो बनाउने आँट गरेकोमा उनको प्रशंसा गरेका छन् ।
भिडियोमा पलका अलावा कलाकार सनिशा भट्टराई फिचर्ड छिन्। पलको प्रेमिकाको रुपमा सनिशाको रोल छ। उनले निकै अब्बल अभिनय गरेकी छिन् । एकताका म्युजिक भिडियो किङ भनेर छवि बनाएका पलको नयाँ म्युजिक भिडियोको पर्खाइमा दर्शकहरु कुरेर बसेको थिए। अन्ततः दर्शकको प्रतिक्षाको घडी सकिएको छ। पललाई निर्देशनमा सान थापाले सघाएका छन्।
अर्जुन तिवारीले आकर्षक फ्रेममा भिडियो खिचेका छन्।भने, भिडियो सम्पादन चाहिँ सुप्रीम पराजुलीले गरेका हुन्। पलले आफ्नै युट्युब च्यानलबाट भिडियो रिलिज गरेका हुन् । आफ्नै च्यानलबाट जेलबाट निस्केपछिको पहिलो भिडियो सार्वजनिक गरेका पलका अब यसपछि करिब आधा दर्जन म्युजिक भिडियो बजारमा आउनेक्रममा छन्।