काठमाडौं : पछिल्लो समय टिकटकमा एउटा गीत निकै चर्चामा छ। प्राय अधिकांश टिकटक प्रयोगकर्ताले उक्त गीतको साउन्डमा टिकटक भिडियो बनाएको पाइन्छ। उक्त गीत हो ‘च्याप्प पर्वते माया’।
यो गीत करिब १ महिनाअघि ‘बाबा इन्टरटेन्मेन्ट टिभी’ नामक युट्युब च्यानलबाट रिलिज भएको हो। गीतले सुरुमा त्यति राम्रो चर्चा पाएको थिएन। यद्यपि, अधिकांशले राम्रो प्रतिक्रिया भने दिइरहेका थिए। विस्तारै भने गीतलाई रुचाउने दर्शक-स्रोता बढ्न थाले। युट्युबमा पनि भ्युजको रफ्तार बढ्दै गईरहेको छ।
विशुद्ध रत्यौली प्याटर्नमा आधारित छ यो गीत। लोकप्रिय गायिका टीका सानू, श्याम क्षेत्री र प्रवेश पौडेलको सुमधुर स्वर गीतमा सुन्न सकिन्छ। गीतको शब्द दिपक अधिकारीले लेखेका हुन्। प्रवेश पौडेलले चाहिँ मेलोडी संकलन गरेका छन्। याम थापा मगरले गीतको म्युजिक अरेन्जमेन्ट गर्ने काम गरेका छन्।
विशेषगरि विवाहमा गाइने मौलिक रत्यौली भाका यो गीतमा समावेश छ। सुन्दा गीतले गाउँलेपनको आभाष दिलाउँछ। गाउँघरका सबै मान्छे जम्मा भएर गाउँदै- नाँच्दै गरेको झल्को दिन्छ गीतले। गीत मौलिक छ। त्यसैले पनि सबैको रोजाइमा पर्न सफल छ गीत।
गीत रिलिजको समयताका भन्दा अहिले यो गीतको चर्चा झन् व्यापक छ। चाहे युट्युब, चाहे टिकटक। सबौतिर गीतलाई रुचाउनेको संख्या बढीरहेको छ। निकै चलेका कलाकारहरुले समेत यो गीतको साउन्डमा टिकटक बनाएका छन्। अहिले यो गीतको फास्ट भर्सन साउन्ड भाइरल छ।
‘फेवा तालमा माछापुच्छ्रे हावा सिरिसिरी
मया नाप्ने मेसिन छैन हेर छाती चिरी’
‘च्याप्प बाग्लुङ्गे माया
झ्याप्प भेटियो पोखरा
आउ भो आँडैमा बस
मेरो पिर मान्ने को छ र ?’
यिनै शब्दहरु टिकटकमा यतिबेला सर्वाधिक भाइरल छन्। ओर्जिनल साउन्डभन्दा अलि फास्ट बनाएर ‘सानिरो’ नाम गरेकी युजरले सुरुमा टिकटकमा भिडियो अपलोड गरेपछि यो गीत झन् भाइरल बनेको हो। यही फास्ट वाला साउन्डमा मात्रै हालसम्म ६० हजार बढी टिकटक बनिसकेका छन्।
त्यसो त, समग्रमा यो गीतको साउन्डमा लाखौं टिकटक भिडियो बनिसकेका छन्। टिकटकले गर्दा यो गीत चल्नुमा थप टेवा पुग्यो भन्दा फरक नपर्ला। अहिले पनि दिनहुँ यो गीतको साउन्डमा सयौं टिकटक भिडियो बनिरहेका छन्।
यता युट्युवको कुरा गर्नुपर्दा गीतले हालसम्म २० लाख बढी भ्युज प्राप्त गर्न सफल भइसकेको छ। सात सय बढी सकारात्मक कमेन्ट दर्शकले गरेका छन्।भने, २३ हजार बढी लाइक युट्युबमा गीतले पाएको छ। टिकटकमा रुचाउन थालेपछि युट्युबमा भ्युज बढ्नेक्रम झन् बढेको हो। त्योक्रम अझै जारी छ।
गीतको भिडियोमा दुर्गेश थापा, स्मारिका ढकाल, अर्जुन सापकोटा, टीका सानू, रविना भण्डारी लगायतका कलाकारहरु फिचर्ड छन्। उनीहरूको मौलिक नृत्यले दर्शकको ध्यान खिच्छ। केटी नै केटाको भेषमा नृत्य गरेर गाइने रत्यौलीको दृश्य भिडियोमा देख्न सकिन्छ। कुनै तडकभडक नभएर सामान्य छ भिडियो।
भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन्। आकर्षक फ्रेममा राम केसीको टिमले भिडियो खिचेको हो।भने भिडियोको सम्पादन प्रविन भट्टले गरेका छन्। गीतलाई औधी रुचाइँदा गीतको सम्पुर्ण युनिट खुशी छ यतिबेला।
अझ बढी खुशी त यो गीतका निर्माता छन् यतिबेला । यो गीतका निर्माता तिलु शर्मा हुन्। पेसाले हाल उनी पत्रकार हुन्। कतारमै बसेर उनले आफ्नो दैनिकी र पत्रकारिता यात्रा अगाडि बढाइरहेका छन्। आफ्नो पेसाका अलावा तिलु अथाह गीत-संगीतप्रेमी हुन्।
गीत-सँगीतकै मोहले उनले दर्जनौं गीतमा लगानी गरिसकेका छन्। न गीत लेख्छन्, न गाउछन्, न भाका बनाउँछन्, नत म्युजिक भिडियोमा अभिनय नै। तर पनि विशुद्ध गीत-संगीतको मोहले गर्दा अहिलेसम्म लगानी गर्दै आइरहेको तिलु बताउँछन्।
गीतले लगानी उठाओस् या न उठाओस् यदि आफूलाई मन परेको गीत छ भने तिलुले लगानी गरेर बजारमा ल्याइहाल्छन्। गीतले लगानी उठाइदिए राम्रो भन्ने सोच्छन् तिलु। गीत नचल्दा पनि त्यति दुखी हुँदैनन् उनी। व्यवसायिक हिसाबले भन्दा पनि आत्मसन्तुष्टिको लागि गीतहरू बजारमा ल्याउने गरेको उनको भनाइ छ।
‘च्याप्प पर्वते माया’ बोलको गीत उनले बजारमा ल्याएको पछिल्लो गीत हो। जताततै गीतको चर्चा हुँदा तिलु खुशी छन्। यो गीतले चाहिँ गीतको लगानी उठाउने आशा छ उनको।
‘मदानीमा नेती, स्यानी, स्यानी २, चट्न चटनी, उज्यालो भो जुनले’ लगायतका दर्जन गीत यसअघि उनले बजारमा ल्याइसकेका छन्। अब छिट्टै नयाँ गीतको तयारीमा रहेकी उनी बताउँछन्।