ज्ञानु संगम खड्का/ काठमाडौं : नेपाली फिल्म हेरिसकेपछि अधिकांश समिक्षकको प्राय एउटै प्रतिक्रिया हुन्छ कि ‘स्क्रिप्ट गतिलो भएन’ भनेर। कलाकार अब्बल छन्, निर्देशक पनि क्षमतावान छन्, लगानी पनि टन्नै छ, सम्पूर्ण टिम राम्रो छ, तर स्क्रिप्ट गतिलो भएन भन्ने गुनासो हामीले सुन्दै आइरहेका छौँ। फिल्मको मुख्य गुदी ‘स्क्रिप्ट’ गजब छ भने त्यस्तो फिल्मलाई दर्शकले औधी रुचाएको उदाहरण हाम्रै अगाडि छन्।
आखिर गतिलो स्क्रिप्ट कस्तो हुन्छ त ? भन्ने प्रश्नको उत्तर थाहा पाउन फिल्म ‘प्रसाद २’ हेरे पुग्छ। यो फिल्म शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ। फिल्मका लेखक सुशील पौडेल हुन्। उनले साँच्चिकै गतिलो स्क्रिप्ट अथवा लेखन कस्तो हुनुपर्छ भन्ने कुरालाई ‘प्रसाद २’मा छर्लङ्ग देखाइदिएका छन्। उनको लेखनलाई यतिबेला निकै तारिफ गरिएको छ।
त्यसो त, फिल्म रिलिजको चार दिनअघि राजधानीमा प्रिमियर शो राखिएको थियो। शो हेरिसकेपछि अधिकांशले ‘प्रसाद २’लाई तारिफ गरेका थिए। फिल्मले उठाएको गम्भीर विषयवस्तु र गम्भीरतापूर्वक गरिएको प्रस्तुतिकरणलाई धेरैको मुखबाट प्रशंसा मिलेको थियो। धेरैले फिल्मको लेखन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। चलेका फिल्मकर्मीले सुशीलको लेखनलाई औधी तारिफ गरेका थिए। समाजको यथार्थ गम्भीर कथालाई सुशीलले टपक्क टिपेर स्क्रिप्टमा उतारेका छन्।
करिब ४ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’को बाँकी कथा हो ‘प्रसाद २’। अन्तरजातीय विवाह गरेका प्रेमिल जोडीको कथालाई फिल्मको केन्द्रमा राखिएको छ।
अन्तर्जातीय प्रेम सम्बन्ध राखेका बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी)को जोडी प्रेममा जित्दै समाजसँग हारेर गाउँदेखि शहर भागेको १२ वर्षपछि ‘सुन्दर’ वस्तिमा फर्किन्छन्। बाबुराम र नारायण गाउँ फर्किँदा आफू मात्रै फर्किँदैनन्। उनीहरू ९ वर्षीय छोरा ‘प्रसाद’लाई पनि साथमा लिएर आएका हुन्छन्। त्यो पनि समाजसँग आमनेसामने हुनको लागि। तर १२ वर्षपछि पनि बाबुराम र नारायणीलाई हेर्ने समाजको दृष्टिकोण उहीँ पुरानै हुन्छ।
देशमा गणतन्त्र आयो। जनताको पक्षमा संविधान लेखियो। जातिय छुवाछुतलाई कानुनले अपराध मानिसकेपछि गाउँ फर्किएका बाबुराम, नारायणीका लागि आउने अबको द्वन्द्व, त्यसका लागि चल्ने संघर्ष र लक्ष्य प्राप्तिको एक उतारचढावपूर्ण यात्रा नै प्रसाद २ हो । उनीहरुका लागि माया भन्दा ठूलो नै के छ र ? फिल्मको सार समग्रमा यही नै हो।
१२ वर्षपछि पनि आफुहरुले भोग्नुपर्ने सामाजिक जातीय विभेद, राजनीतिक विकृति, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध बाबुराम र नारायणीले कस्तो खालको संघर्ष गर्छन् त ? उनीहरूले कस्तो खालको कदम चाल्छन् ? सन्तान प्राप्तिको पिडाबीच बाबुरामले नारायणीको कोखलाई मन्दिर मानेर प्रसादको रुपमा ग्रहण गरेको छोरा ‘प्रसाद’लाई समाजले प्रसादको रुपमा ग्रहण गर्छ त ? यी सब कुरा थाहा पाउन पूरा फिल्म हेर्न हल जानैपर्छ।
फिल्मले सुरुदेखि अन्तिमसम्म दर्शकलाई स्क्रिनमा बाँधेर राख्छ। फिल्मको पहिलो हाफ ठिकै छ। दोस्रो हाफ भने उम्दा छ। फिल्म हेर्दा दर्शकलाई एकछिन पनि आँखा झिमिक्क नगरौं झै लाग्छ। दर्शकको ध्यान केन्द्रित गरिराख्छ। यसपछि अब के होला ? भन्दाभन्दै फिल्ममा ट्वीस्टमाथि ट्वीस्ट आइराख्छ। जसले गर्दा दर्शकलाई ताली बजाउन बाध्य पार्छ। दोस्रो हाफमा फिल्मले ठाउँ ठाउँमा दर्शकलाई रुन बाध्य पार्छ। कतिपय दृश्यहरुले मन चसक्क पार्नेगरी छुन्छन् ।
प्रायः रोमान्टिक फिल्म निर्देशन गरेर सफलता पाएका निर्देशक सुदर्शन थापाले साँच्चिकै गम्भीर ‘प्रसाद २’ जस्तो फिल्म पनि उत्कृष्ट तरिकाले निर्देशन गरेका छन्। उनको निर्देशकिय क्षमताको एक इट्टा ‘प्रसाद २’ले थपिदिएको छ। आफुलाई उनले अब्बल निर्देशकको रुपमा सावित गर्न सफल भएका छन्। उनको निर्देशकिय मिहेनत फिल्ममा झल्किएको छ।
‘प्रसाद २’ हेरेपछि सुदर्शनलाई रोमान्टिक फिल्मका निर्देशक भन्ने ट्याग हट्छ। एउटा अब्बल स्क्रिप्टमाथि सुदर्शनले गरेको न्याय प्रशंसनीय छ। फिल्म हेरेपछि अधिकांशलाई ‘वाह ! क्या गजब निर्देशन’ भन्ने महसुस पक्कै हुन्छ।
यता कलाकारहरूको कुरा गर्नुपर्दा सबैले फिल्मलाई न्याय दिने भुमिका निर्वाह गरेका छन्। फिल्ममा विपिन कार्की, केकी अधिकारी र अर्पण थापासँगै बाल कलाकार उपेश ढकालले पनि अभिनय गरेका छन् ।
फिल्ममा नेगेटिभ क्यारेक्टर रमेशको भुमिका निर्वाह गरेका (अर्पण थापा)को काम निकै अब्बल छ। आफ्नो क्यारेक्टरलाई सतप्रतिशत न्याय गरेका छन् उनले। यो फिल्मबाट उनका फ्यान बढ्ने निश्चित नै छ।
अब बाबुरामको भुमिका निर्वाह गरेका बिपिन कार्कीको त के कुरा गर्नु र। उनी कस्तो कलाकार हुन् भन्ने कुरा त सबैलाई अवगत नै छ। ‘प्रसाद’मा निर्वाह गरेको भुमिकाबाटै विपिनले वाहवाही पाइसकेका छन् । भर्सटायल कलाकारको छवि बनाएका विपिनले ‘प्रसाद २’मा पनि उम्दा अभिनय गरेका छन्। उनको अभिनयले जोकोहीलाई भावुक गराउँछ।
त्यस्तै, नारायणीको भुमिका निर्वाह गरेकी केकीले पनि उत्कृष्ट काम गरेकी छिन्। फिल्मले मागेको नारायणी क्यारेक्टर केकी नै हुन् भन्ने आभाष हुन्छ फिल्म हेर्दा। उनको अभिनय क्षमता झन् अब्बल भएको महसुस हुन्छ। बाबुराम र नारायणीको छोराको भुमिका निर्वाह गरेका बाल कलाकार उपेश ढकालले लोभलाग्दो काम गरेका छन्।
उपेशको यो डेव्यू फिल्म हो। तर पनि उनको अभिनय निकै निखारिएको जस्तो महसुस हुन्छ।उनी एउटा अनुभवी कलाकारको रूपमा उदाउन सक्ने छनक देखाएका छन् फिल्ममा। निकै कारुणिक अभिनय गरेका छन् उनले। तथापि, फिल्ममा केकी र विपिनको कारुणिक एवम् जीवन्त अभिनयले हेर्ने दर्शकको आँखा रसाउँछ। उनीहरूको एकदम नेचुरल अभिनय देख्न सकिन्छ।
फिल्मको कथा अनुसार संवाद लोकेशन, खिचाई, पात्र चयन, निर्देशन, पार्श्व संगीत, सम्पादन लगायत सम्पुर्ण कुरा अब्बल छ। तर फिल्मको कथा अनुसार कारुणिक वियोगान्त एउटा मात्रै गीत फिल्ममा समावेश गरेको भए सुनमा सुगन्ध भनेझैं हुन्थ्यो। जसरी ‘प्रसाद’को गीत ‘माया भन्दा ठूलो नै के छ र ?’? गीतले सबैको ध्यान खिचेको थियो, त्यसरीनै सबैको दिमागमा गुन्जिने एउटा अब्बल वियोगान्त गीत भइदिएको भए अझै गजब हुन्थ्यो।
वास्तवमै भन्नू पर्दा ‘प्रसाद २’ एउटा स्वादिलो प्रसाद हो। यदि दर्शकले हलमा गएर यो फिल्म हेरे भने मन्दिरमा गएर भगवानको प्रसाद ग्रहण गर्दा जति आनन्द आउँछ, त्यतिनै आनन्द पाउनेछन्। भगवानको मन्दिरमा गएर प्रसाद ग्रहण गर्दा जाग्ने जत्तिकैको सन्तुष्टि चलचित्र मन्दिरमा गएर ‘प्रसाद २’ हेर्दा मिल्न सक्छ।
पहिलो सिक्वेल भन्दा निकै उत्कृष्ट र स्वादिलो बनेको ‘प्रसाद २’ एकपटक सबै दर्शकले हेर्नैपर्ने फिल्म हो। यदि यो फिल्म हेर्न छुटाइयो भने गतिलो स्क्रिप्टसहितको उत्कृष्ट फिल्म हेर्ने चाह सायदै पूरा होला। यस्ता अब्बल फिल्म अझै बन्नुपर्छ, जसले नेपाली फिल्म क्षेत्रको शिर उच्च पार्न टेवा पुग्छ।