ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय नेपाली चलचित्रको पार्श्व गायन एवम् मेलोडियस गीतहरुमा स्वर भर्नको लागि संगीतकार अनि चलचित्र निर्माताको पहिलो रोजाइमा पर्ने गायक हुन् कृष्ण काफ्ले।
एकपछि अर्को गर्दै पछिल्लो समय कृष्णका गीतहरू लोकप्रिय बन्दै गईरहेका छन् । यसको ज्वलन्त उदाहरण हो केही महिना अगाडी कृष्ण काफ्ले, बुद्ध लामा, अस्मिता अधिकारी र समीक्षा अधिकारीको आवाजमा बजारमा आएको गीत “मैले बोलेको छैन ढाँटेर”। कृष्णको यो गीतलाई पछिल्लो समय दर्शक स्रोताले अत्याधिक रुचाएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा करिव एक दशक लामो योगदान दिइसकेका कृष्ण काफ्ले वि.सं. २०४५ सालमा स्याङ्जाको रापाकोटमा जन्मिएका हुन् । ४ कक्षासम्म कृष्णले स्याङ्जामै अध्ययन गरे। ४ कक्षा पश्चात् कृष्णको परिवार बसाइँसराइ गरि नवलपरासी आयो। सानोमा गीत संगीतमा खासै इच्छा नभएका कृष्णले स्कुल जीवनको ७/८ कक्षा पढ्दै गर्दा गीतहरु गुनगुनाउन सुरु गरेका हुन् ।
गाउँघर एवम् विद्यालयमा हुने विभिन्न कार्यक्रममा कृष्णले आफ्नो आवाजमा गीत सुनाउँने गर्थे। उनको स्वर सुनेपछि उनका साथीभाइ अनि आफन्तजनबाट राम्रो प्रतिक्रिया आउँथ्यो। जसका कारण गीत संगीतमै केही गर्नुपर्छ भन्ने हौसला एवम् रुचि कृष्णमा बढ्दै गयो।
रेडियोमा बज्ने गीतहरु गुनगुनाउँदै गर्दा कृष्णले ९/१० कक्षा पढ्दा नवलपरासी आइडलमा भाग लिए। कृष्णले आफ्नो जादुमय स्वर छरेर उक्त आइडलको उपाधी हात पार्न समेत सफल भए। आइडलको विजेतापछि कृष्णमा झन गायक बन्ने तृष्णा जाग्दै गयो।
उता कृष्णको परिवारमा भने कृष्ण एउटा राम्रो सरकारी जागिरे भएको हेर्न चाहाना थियो। उसो त कृष्णले परिवारको इच्छालाई मध्यनजर गर्दै एसएलसी दिएपछि आर्मीमा भर्ती हुन समेत गए। भर्ती हुन जाँदा ८ पटकसम्म फालिए। निरन्तर मिहेनतपछि कृष्ण करिव ६४ सालमा ९ औं पटक आर्मीको छनोटमा समेत परे। तर ६३ सालको अन्तिमतिर द्वन्दको समय भएका कारण एकदम लडाइ हुने गर्थ्यो। जसका कारण परिवारबाटै उनलाई आर्मीमा जान रोक लगाइयो।
आर्मीतिर नजाने भएपछि उनी गाउँमै छँदा गीतसंगीतको रुचि पूरा गर्नको लागि काठमाडौं आउने जाने गर्थे। उक्त समयमा कृष्णले काठमाडौंमा कलाकार निर्मल शर्मासंग चिनजान गर्ने अवसर पाए। कृष्णमा गीत संगीतसंगै कलाकारको पनि कहिकतै रुचि पनि थियो। उता निर्मल शर्मा, दिपाश्री अनि दिपकराज गिरीद्वारा संचालित टेलिसिरियल तितो सत्य चर्चित थियो। संयोगबस कृष्णले ६४ सालदेखि तितो सत्यमा समेत अभिनय गर्न थाले।
तितोसत्य खेलेपछि गाउँघरमा कृष्णको चर्चा हुन थाल्यो। आफ्नो छोरा टिभीमा देखिएपछि कृष्णको परिवारमा पनि खुसी छायो। कृष्ण तितो सत्यमा अभिनय गर्न घरबाट काठमाडौं आउने जाने गर्थे। करिव ५ वर्ष जति निरन्तर तितो सत्यमा अभिनय गरे कृष्णले। उनी गीत संगीतकै लागि भने ६५ सालदेखि काठमाडौंमै बस्न थाले।
सुरुमा काठमाडौं मामाको घरमा बसे उनी। पछि पछि विस्तारै आफैंले केही गरेर बस्नुपर्छ भन्ने सोचेर कृष्णले काठमाडौंको श्रुति संगीत विद्यालयमा संगीत कक्षा सुरु गरे। संगीत सिक्दै गर्दा उनको शब्द संगीतमा धेरै कलाकारहरुले गीतहरु गाइसकेका थिए।
नवलपरासी छँदा नै कृष्णले केही गीतका शब्द कोरेका अनि संगीत बनाएका थिए। उनले शब्द संगीत बनाएका गीतहरुले तारिफ पनि पाए।
उनले आफ्नो आवाजमा भने पहिलोपटक ६५ सालमा दिपक भट्टको शब्द र आफ्नै संगीतमा “आँशुमा डुबाउन्न भन्थ्यौ” बोलको गीत गाए। जुन गीतबाट कृष्णको गायक बन्ने रहर पुरा भएको थियो। पहिलो गीत बजारमा आएपछि उनले राम्रा राम्रा सर्जक, संगीतकारबाट राम्रो प्रतिक्रिया पाए। जसबाट उनलाई संगीतप्रती झन हौसला थपियो। गीत संगीतमा राम्रो हुँदै गएपछि कृष्णले तितो सत्यमा समय दिन सकेनन् ।
“संघर्षकै दौरानमा मैले काठमाडौंमा करिब २/३ वर्ष जति साइकलमा कपडा पुर्याउने काम पनि गरेँ”, उनी भन्छन् ,”परिवारबाट पैसा माग्न अफ्ट्यारो हुने अनि यता गीत संगीतबाट त्यति कमाइ नहुने भएपछि आफ्नो ज्यान पाल्न विभिन्न काम पनि गरेँ तर पनि संगीतको साधना भने गर्न छोडिएन।”
उनको कला अनि मिहेनतका कारण कृष्णलाई विभिन्न अवसर आउन थाल्यो। उनले पहिलोपल्ट ६८ सालतिर आर्यन सिग्देल र निता ढुंगाना अभिनित चलचित्र “दवाव”को गीत गाउने मौका पाए। उनले “तिम्रो पावरफुल बैसको झट्काले” बोलको गीत एकदमै चल्यो त्योबेला। जुन गीतले कृष्णलाई चलचित्रमा पनि अब्बल सावित गर्दियो।
त्यसपश्चात, कृष्ण धेरै चलचित्र निर्माताको नजरमा पर्न थाले। उनले धेरै चलचित्रमा काम गरे। चलचित्रका गीतकै कुरा गर्नुपर्दा उनले गाएको चलचित्र किस्मत २ बाट “तिम्रो पिक्चर हिट” गीत त झन चल्यो। जुन गीतले कृष्णलाई गीतले भनेझैं हिट पनि बनायो। त्यसपछि कृष्णको व्यस्तता चलचित्रका गीत गाउनमा बढ्यो। उनले चलचित्र मंगलमको गीत “पर्ख पर्ख मायालु” , चलचित्र छक्का पन्जाको गीत “देखन चम्पा” लगायतका गीतहरू गाए, ती गीतहरू पनि दर्शक स्रोता माझ अत्याधिक लोकप्रिय बने।
जुन गीतहरूबाट कृष्णले देश विदेशमा हुने थुप्रै अवार्डहरु समेत हात पार्न सफल भए। विश्वको कान्छो निर्देशक सौगात विष्टद्वारा निर्देशित चलचित्र “लभ यू बाबा”को टाइटल गीत समेत कृष्णले गाएका हुन् । उनले पछिल्लो पटक चलचित्र मारुनीको “हाने मैले झटारो” बोलको गीत गाएका छन् । उक्त गीतलाई पनि दर्शक स्रोताले एकदमै रुचाएका छन् ।
चलचित्रसंगै सोलो गीतहरु एकपछि अर्को हुँदै हिट भएपछि कृष्णको व्यस्तता देश विदेशका कार्यक्रममा पनि बढ्यो। गीत संगीतकै कार्यक्रमका लागि हालसम्म कृष्ण ३० भन्दा बढी देशको भिजिट गरिसकेका छन् । कृष्ण आवाजमा मात्रै होइन, सुन्दरतामा पनि आकर्षक देखिन्छन् ।
झट्ट हेर्दा हिरो झैँ देखिने कृष्णले केही आफ्ना गीतहरुमा आफैं मोडलिङ समेत गरेका छन् । दर्शकले तपाईंलाई मोडलिङमा सुहाउँछ, आफ्ना गीतको भिडियोमा देखिनुहोस भन्ने आग्रहपछि आफैं केही गीतमा मोडलिङ गरेको उनी बताउँछन् । उनले गीत गायनमा मात्रै नभएर केही चलचित्रमा समेत अभिनय गरेका छन् ।
हालसम्म २ सय भन्दा बढी गीत गाइसकेको कृष्ण बताउँछन् । जस मध्ये २० भन्दा बढी चलचित्रका गीतहरू छन् । उनको आफ्नै शब्द संगीतमा भने ५० बढी गीतहरू बजारमा आइसकेका छन् । बहुमुखी प्रतिभाका धनी कृष्ण पछिल्लो समयका डिमान्डेड गायकमा पर्छन् ।
करिव एक दशकदेखि दर्शक स्रोताको मनमा बस्दै आएका कृष्णको आगामी दिनमा अझै राम्रा राम्रा गीतहरु दर्शक स्रोताको माझ पस्किने योजना रहेको छ। आफ्नो कला अनि मिहिनेत हुँदा हुँदै पनि सुरुवाती दिनमा पैसाको अभावका कारण अगाडी बढ्न गाह्रो परेको अनुभव छ कृष्णसंग। तर पनि निरन्तर लगनशील भएर मिहेनत गरेमा सफल भइने कृष्णको विश्वास छ।
“सधैं झै विदेशका कार्यक्रममा व्यस्त हुने कोरोनाको संक्रमण अनि लकडाउन नभएको भए यो समयमा अमेरिकाको कार्यक्रमा हुन्थेँहोला”,उनी भन्छन् । तर कोरोना अनि त्यसपछि भएको लकडाउनका कारण आफुले राम्रोसंग आराम र नयाँ सृजना गर्न पाएको कृष्ण बताउँछ्न।