नेपालगन्ज : आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’लाई लिएर दर्शकहरु निकै उत्साहित छन्। किनकी नेपालमा हालसम्म बनेका चलचित्रहरु मध्ये यो नितान्त फरक जनरामा बनेको छ।
डान्समा आधारित चलचित्र भएको भएर पनि विशेषगरी युवाहरु चलचित्रको प्रदर्शन मिति कुरेर बसिरहेका छन्। त्यसैले पनि निर्माण टिमले प्रचारप्रसारलाई निकै तिव्रता दिएको छ।
मोफसल प्रमोसनका लागि चलचित्रको टिम शनिबार नेपालगन्ज आएको थियो। चलचित्रका मुख्य पात्र जसीता गुरुङ र धिरज मगरले नेपालगन्ज आएको मौका छोपी बागेश्वरी मन्दिर दर्शन समेत गरेका थिए।
नेपालगन्जमा बागेश्वरी मन्दिरको नाम सुनेको तर आजसम्म दर्शन गर्ने मौका नमिलेको जसिता र धिरजले बताएका थिए। उनीहरूसँगै चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर विवेक खकुरेल, चलचित्रका मिडिया कोर्डिनेटर विजय आवाज लगायतले बागेश्वरी मन्दिरको दर्शन गरेका थिए।