काठमाडौं : आगामी वैशाख २१ गतेबाट रेनशा वान्तवा राई निर्देशित चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’ प्रदर्शनमा आउँदैछ। प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्रको टिम यतिबेला प्रचारप्रसारमा निकै व्यस्त छ।
केही दिन अघि निर्माण टिमले ट्रेलर रिलिज गरेको थियो। ट्रेलर रिलिज पश्चात् त निर्माण टिम झन् प्रचारप्रसारमा जुटेको छ। निर्माण टिमका अलावा अन्य चलचित्रकर्मीहरुले समेत ‘ज्याकी’को प्रचारप्रसारमा साथ दिएका छन्।
नायक अनमोल केसी, प्रदीप खड्का, दयाहाङ राई, निर्देशक सुदर्शन थापा, नायिका श्रदा क्षेत्री, निर्देशक सन्तोष सेन लगायतका चलेका चलचित्रकर्मीहरुले ‘ज्याकी’को ट्रेलरको तारिफ गर्दै आफ्नो सामाजिक संजाल फेसबुकमा सेअर गरेका छन्।
प्रदीपले त ट्रेलरबाट आफू निकै उत्साहित रहेको बताउँदै शुभकामना समेत दिएका छन्। प्रदीपले ट्रेलर शेयर गर्दै शुभकामना दिएपछि हजारौंले कमेन्ट गर्दै ट्रेलर राम्रो भएको र पूरा चलचित्रको पर्खाइमा रहेको बताएका छन्। निर्देशक रेनशाले पनो प्रदीपलाई ‘लभ यू’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।
यसरी चलेका स्टारहरुले नै खुलेर साथ दिएपछि ‘ज्याकी’ टिम निकै खुशी छ। किनकी प्रायः चलचित्रकर्मीहरुले अरुको चलचित्रलाई साथ दिएको कमै पाइन्छ। तर ‘ज्याकी’लाई भने अधिकांश चलचित्रकर्मीको साथ मिलिरहेको छ।
चलचित्रमा धिरज र जसिता मुख्य भुमिकामा रहेका छन्। डान्सको कथामा आधारित यो चलचित्र नेपालको पहिलो हो। सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद चलचित्रमा रहेको छ।
चलचित्र आईकोर फिल्मसको ब्यानरमा निर्माण भएको हो। निर्माण टिमले चलचित्रको सम्पुर्ण पब्लिसिटी डिजाइन एवम् सामाग्रीको लागि रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)लाई दिएको छ।
चलचित्रमा धिरज र जसिताका अलावा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत अभिनय रहेको छ। चलचित्रमा जसिता ‘रुबी’को भुमिकामा रहेकी छिन्।