काठमाडौं : लोकप्रिय गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको गीत चर्चामा छ। चर्चामा मात्र होइन निकै चर्चामा छ। रिलिज भएको ४ दिन मात्रै भयो। तर गीतलाई औधी रुचाइएको छ। गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ।
गीतलाई छोटो समयमै ५५ लाख बढी भ्युज प्राप्त भएको छ भने हजारौं प्रतिक्रिया मिलिरहेका छन्। टिकटकमा त यो गीतले कब्जा नै जमाएको छ। टिकटक खोलेर हेर्ने हो भने प्राय टिकटक प्रयोगकर्ताले यसै गीतको अंशमा भिडियो बनाएको पाइन्छ।
‘कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो ?’
‘नाकको बुलाकी कल्ले किन्दियो ?’
‘घाँटी नीर डाम के को होला नि ?’
‘आँखै खाने डायमन्ड तिम्लाई कल्ले किन्दियो ?’ लगायतका यो गीतका शब्दहरु यतिबेला साह्रै चर्चित छन्। शब्द संगीत अनि स्वर प्रकाश सपुतकै छ।
चौतर्फी तारिफ मिलिरहेको समयमा आलोचना समेत सुरु हुन थालेको छ। गाउँकी फुलमाया कलाकार बन्ने रहर पूरा गर्न शहरमा आफ्नो जवानी बेचेको कथालाई भिडियोमा देखाइएको छ।हो, यही दृश्य र युवतीले लगाएका हरेक सामानहरु कल्ले किन्दियो भन्दै नारीलाई अपहेलना गरिएको भन्दै विभिन्न व्यक्तिहरुले आलोचना गर्न थालेका छन्।
गीतमा नारी अस्तित्व माथि नै प्रश्न चिन्ह खड्का गरिएको भन्दै यतिबेला विरोध समेत गर्न थालिएको छ। नायिका रेखा थापाले समेत एक स्टाटस सेअर गरेकी छिन्। नर बहादुर कार्की नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेको स्टाटस रेखाले सेअर गरेकी हुन् ।
‘तिम्लाई कल्ले किन्दियो? पापी शहर, धर्म मास्ने रहर आदीमा महिलाहरु खुशी साथ अभिनयमा ब्यस्त हुनु- भाग्यवादको ताजुबलाग्दो नमुना नै हो । कला मार्फत दास बन्न- महिलाको घुइचो छ। यिनको आफ्नो औकात नै आँफैले किन्न सक्छु भन्ने छैन झै ।’ भन्ने अभिव्यक्ति रेखाले सेअर गरेको स्टाटसमा उल्लेख गरिएको छ।
त्यस्तै, अर्का हुसेन जी नाम गरेका फेसवुक प्रयोगकर्ताले पनि प्रकाश सपुतको गीतमाथि आलोचना गरेका छन्। उनले लेखेका छन् – ‘अनि दिदी बहिनी हो ! सकम्बरिमा टिकटक मात्रै बनायौ कि नारी अस्मिता माथिको नांगो प्रहार पनि देख्यौ ? के सबै रात्रीकालिन लोकदोहोरी क्षेत्रका महिला कलाकारहरु सकम्बरी नै हुन त ?’
त्यसो त, अन्य धेरै महिला अधिकारकर्मीहरुले पनि उक्त गीतको अडियो भिडियो माथि प्रश्न उठाएका छन्। कवियत्री तथा लेखिका सृजना पोखरेलले पनि गीतमाथि आपत्ति जनाएकी छिन् ।
आइतबार मात्रै दोहोरी संघका अध्यक्ष विनोद श्रेष्ठले एक मिडियामा आएर गीत तत्काल युट्युबबाट हटाउन निर्देशन दिएका छन्। रात्रिकालिन व्यवसायलाई खलल पुग्ने खालको भिडियो भएकोले सह्य नभएको उनको आपत्ति छ। भिडियोले दोहोरी साझमा काम गर्ने महिला कलाकारमाथि अपहेलना गरेको उनको दाबी छ। विनोद दोहोरी साँझ संचालक समेत हुन्।
अन्य थुप्रैले पनि गीतको आलोचना गरिरहेका छन्। तर कतिपयले राम्रो पनि प्रतिक्रिया दिइरहेका छन्। प्रकाश यतिबेला सांगीतिक कार्यक्रमको लागि अमेरिकामा छन् । गीतले विवाद न निम्त्याओस भन्ने चाहन्थे उनी। तर गीत फ़ेरि विवादमा तानिएको छ।
प्रायः उनका गीतहरू विवादमा पर्दै आइरहेका छन्। यो भन्दा अघिका पिर, गलबन्दी, मेरो पनि हैन र यो देश, लगायतका गीतहरू पनि विवादमा मुछिएका थिए। तर जे जस्तो भएपनि प्रकाशले आफ्ना गीतहरू मार्फत नयाँ नयाँ कथाहरु भनिरहेका हुन्छन् । सकम्बरी पनि उनले भने एउटा बेग्लै कथा हो।
भिडियोमा सुनिल थापा, प्रकाश सपूत, कुशुम शर्मा,निक्स शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ। भिडियोमा प्रकाश सपूतकै कथा एवम् निर्देशन रहेको छ। सुनिल बिक भिडियोका सह-निर्देशक हुन् भने विशाल घिमिरे सृजनात्मक निर्देशक हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्।
यतिबेला ‘सकम्बरी’मा अभिनय गरेकी कलाकार कुशुम शर्माको अभिनयको चौतर्फी तारिफ आइरहेको छ। उनले निर्वाह गरेको क्यारेक्टरलाई धेरैले रुचाएका छन्। यद्यपि उनको क्यारेक्टरलाई लिएर परिवारमा दाइ भने खुशी नभएको कुरा कुशुमले मिडियामा बोलेकी छिन्।