पल शाह फर्किए सुटिङमा, सनिशासँग बाँध्दैछन् जोडी

काठमाडौं : नायक पल शाह एकवर्ष पछि सुटिङमा फर्किएका छन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण करिब १ वर्ष लामो जेल जीवन बिताएका पलले गत महिना मात्रै सफाइ पाएका थिए।

सफाइ पाएपछि पल केही महिना परिवारको साथमा रहे। त्यसपछि पल केही मेला महोत्सवमा समेत सहभागी बने। मेला महोत्सवमा सहभागी भएर आफ्नो कलाकारिता जीवनलाई चलाएमान बनाएका पल अब म्युजिक भिडियो सुटिङमा समेत फर्किएका छन् ।

जे जस्तो भएपनि म्युजिक भिडियो नै पलको जीवन धान्ने रोजिरोटी हो। त्यसैले पनि होला पल जेल मुक्त भएपछि चलचित्र भन्दा म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेका छन् ।

म्युजिक भिडियोका राजा भनेर पछिल्लो समय छवि बनाएका पल यतिबेला मुस्ताङमा छन् । नयाँ म्युजिक भिडियो सुटिङकै लागि पल मुस्ताङ पुगेका हुन् । बिहीबार मुस्ताङ वरपर छायांकन भइरहेको ‘आँशु बनी नखस कैले नि’ बोलको रोमान्टिक गीतमा पलले अभिनय गरिरहेका छन् ।

उनले आफू छायांकनमा फर्किएको जानकारी फेसबुक मार्फत दिएका छन् । मोडल शनिशा भट्टराईसँगको एक तस्बिर सामाजिक सञ्जालमा सेअर गर्दै आफू म्युजिक भिडियो छायांकनमा फर्किएको उल्लेख गरेका छन् ।

पलले सार्वजनिक गरेको तस्वीरमा छोटो समयमै हजारौं लाइक कमेन्ट देख्न सकिन्छ। जहाँ पलका शुभचिन्तकले राम्रो प्रतिक्रिया दिएका छन् ।
पलले जेल जीवन पश्चात् काम गर्न लागेको भिडियोलाई चर्चित म्युजिक कम्पनी केन्द्र मोसन पिक्चर्सले बजारमा ल्याउँदैछ।

त्यसो त पलले केन्द्र मोसनका आधा दर्जन बढी भिडियोमा काम गरिसकेका छन् । फुलबुट्टे सारी, टाढा भएपनि, आँखामा आउने सपना, गाजल टिकी, तिम्रो मनमा ए कान्छा, लगायतका गीतमा पलले केन्द्र मोसनको सहकार्यमा काम गरिसकेका छन्।

प्रतिक्रिया

TOP