काठमाडौं : रेनशा वान्तवा राई निर्देशित चलचित्र ‘ज्याकी’: ‘आईएम ट्वान्टी वान’को पहिलो अफिसियल गीत रिलिज गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘कथा’ बोलको गीत रिलिज गरेको हो।
गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको आवाज छ। गीतको शब्द किरण थापाले लेखेका हुन्।भने, संगीत रोहित शाक्य र किरण थापाको संयुक्त रहेको छ।
सफ्ट मेलोडियससँगै डान्सिङ प्याटर्नमा आधारित गीतमा यसै चलचित्रका नायक धिरज मगर र नायिका जसिता गुरुङ फिचर्ड छन्। केही संवादसँगै उनीहरू भिडियोमा प्रस्तुत छन् ।
भिडियोमा जसिता र धिरजको डान्स निकै लोभलाग्दो छ । उनीहरूको निकै आकर्षक डान्स मूभहरु भिडियोमा देख्न सकिन्छ। त्यति मात्रै कहाँ होर, धिरज र जसिताबीच निकै प्रेमिल प्रेमभाव पनि भिडियोमा झल्किएको छ। उनीहरूको डान्सप्रतिको अथाह मोह पनि भिडियोमा देखाइएको छ।
त्यसो त, भिडियोमा डान्सको लागि जसिता र धिरजले निकै मिहेनत गरेका छन्। उनीहरूको कडा मिहेनत भिडियोमा झल्किन्छ। भिडियोलाई ‘द वाइल्ड रिपर्च क्रु’ टिमले कोरियोग्राफी गरेको हो।
डान्सको कथामा आधारित यो चलचित्र नेपालको पहिलो हो। सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद चलचित्रमा रहेको छ।
आईकोर फिल्मसको ब्यानरमा निर्माण भएको यस् चलचित्रको पोस्टर आउट भएदेखि नै लोकप्रियता बढ्दो छ। चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।
आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको यस् चलचित्रमा एउटा डान्सर बन्ने युवकको संघर्ष र त्यागको कथालाई देखाइएको छ।
चलचित्रमा धिरजका अलावा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत अभिनय रहेको छ। चलचित्रमा जसिता ‘रुबी’को भुमिकामा रहेकी छिन्।