नेपालगन्ज : गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ४’ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ। हलमा दर्शकको भिड खचाखच छ।
चारैतिर चलचित्रको प्रशंसा भएपछि मन्त्री कृष्णा केसी ‘नमुना’ले पनि ‘छक्का पन्जा ४’ हेरेकी छिन् ।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ ले शनिबार यो चलचित्र हेरेकी हुन् ।
नेपालगन्ज स्थित क्युएफएक्स सिनेमाज बागेश्वरीमा मन्त्री नमुनाले शनिबार साँझ ७ बजेको शो परिवार सहित हेरेकी हुन्।
‘छक्का पन्जा ४’ एकपटक सबैले हेर्नुपर्ने चलचित्र रहेको मन्त्री नमुनाले बताएकी छिन्। चलचित्र हेरिसकेपछि फिल्मीपत्रसँग कुरा गर्दै उनले चलचित्रले उठाउन खोजेको विषयवस्तु निकै राम्रो रहेको बताइन् ।
‘सबैबाट राम्रो छ भन्ने सुनेपछि मैले पनि हेरेँ’, चलचित्र हेरेपछि मन्त्री नमुनाले भनिन्, ‘यो चलचित्रले उठाउन खोजेको विषयवस्तु निकै राम्रो छ। वर्तमान समय सापेक्ष अनुसारको कथा रहेछ। राजनीति विकृति र विसंगतिलाई चलचित्रमा देखाइएको रहेछ। जनताहरु जुन खालको कामको जान्छन् र त्यो काममा जुन खालको बाधाहरु आउँछन् कर्मचारी तन्त्रबाट यो कुराले चाहिँ मलाई एकदम छोयो। किनकी म पनि राजनीति पार्टीमा आबद्ध भएर पनि होला। साथै कतिपय नयाँ युवाहरु, जो राजनीतिमा लागेर देशका लागि केही गर्छु भन्दा सजिलै स्वीकार नगरेको अवस्था जुन छ त्यो कुरा चलचित्र देखाइएको छ। यो पाटो चाहिँ राम्रो लाग्यो।’
त्यसो त, मन्त्री नमुनाले लामो समयपछि हलमा गएर हेरेको चलचित्र हो ‘छक्का पन्जा ४’। ५४/५५ सालतिर हलमा गएर चलचित्र ‘बलिदान’ हेरेको र त्यसपछि ‘आगो’ चलचित्र हेरेको र हाल निकै लामो समयपछि ‘छक्का पन्जा ४’ हेरेको उनको भनाइ छ।
कमेडी र राजनीति बेथितिको बारेमा बनेको ‘छक्का पन्जा ४’ मा दिपकराज गिरीको कथा र लेखन रहेको छ। चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
यो चलचित्रका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।
चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।