नेपालगन्ज : मेगा स्टार अनमोल केसी स्टारर चलचित्र ‘२.० छड्के’ यतिबेला हलमा प्रदर्शनरत छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रलाई हलमा दर्शकको साथ सोचेजस्तो मिलेको छैन।
प्रदर्शनको पहिलो दिन खासै दर्शकको साथ नमिलिरहँदा शनिबार चाहिँ उल्लेख्य साथ मिल्ने अनुमान गरिएको थियो। तर विडम्बना शनिबार पनि यो चलचित्रलाई दर्शकको साथ न्यून छ।
नेपालगन्जमा त झन् शनिबार ‘२.० छड्के’को बिजोगको पनि हरिबिजोग छ। यो चलचित्रसँगै एकसाथ प्रदर्शनमा आएको ‘छक्का पन्जा ४’ले नेपालगन्जमा विहानैबाट हाउसफुल व्यापार गरिरहँदा ‘२.० छड्के’को भने बिजोग नै छ।
शनिबार जस्तो बिदाको दिनमा समेत नेपालगन्जमा ‘२.० छड्के’को पहिलो शो हेर्न आउने दर्शक जम्मा ७ जना थिए। शनिबार जस्तो दिनमा यो चलचित्र हेर्न आउने दर्शकको संख्या खचाखच हुन्छ भन्ने अनुमान फेल खाएको छ।
त्यसो त, प्रदर्शन अगाडि जुन अपेक्षा गरिएको थियो, त्यो अपेक्षा पूरा नभएको हेर्ने दर्शकको प्रतिक्रिया छ। जे होस् अनमोल जस्तो स्टार भएको चलचित्रको अवस्था यस्तो हुनुभनेको पक्कै राम्रो होइन ।
यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको प्रमुख अभिनय रहेको छ। लामो समयपछि अनमोल यो चलचित्र मार्फत दर्शक माझ आएका हुन् ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको यस् चलचित्रसंग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।