
काठमाडौं : नायक धिरज मगर स्टारर चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिजर रिलिज गरिएको छ। शुक्रबार निर्माण टिमले १ मिनेट १३ सेकेन्डको टिजर आउट गरेको हो।
टिजर हेर्दा चलचित्र डान्सर बन्ने युवाको कथामा बनेको अनुमान लगाउन सकिन्छ। त्यसो त, आफ्नो डान्सर बन्ने सपना साकार पार्न धिरजले निकै संघर्ष गरेको टिजरमा देख्न सकिन्छ।
तर धिरजको सपना डान्सर बन्ने भइरहँदा परिवारको भने ब्रीटिस आर्मी बनाउने सपना बाधक हुँदा आउने उतारचढावबीच टिजर केन्द्रित छ।
टिजरमा धिरजको डान्स निकै आकर्षक छ। उनले गरेका डन्समुभहरु निकै लोभलाग्दा छन्। चलचित्र उच्च मेकिङमा बनेको आभाष हुन्छ टिजर हेर्दा। चलचित्र लिएर धिरजले पनि निकै मिहेनत गरेको देखिन्छ।
डान्सको कथामा आधारित यो चलचित्र नेपालको पहिलो हो। चलचित्रलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् । सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद चलचित्रमा रहेको छ।
आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको यस् चलचित्रमा धिरजका अलावा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको समेत अभिनय रहेको छ।
आईकोर फिल्मसको ब्यानरमा निर्माण भएको यस् चलचित्रको पोस्टर आउट भएदेखि नै लोकप्रियता बढ्दो छ। चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।
चलचित्रले बकस अफिसमा राम्रो व्यापार गर्ने आँकलन गरिएको छ। धिरज पनि यो चलचित्रलाई लिएर निकै आशावादी रहेका छन् ।