काठमाडौं : भनिन्छ नि इच्छा शक्ति भयो भने हरेक कुरा सम्भव हुन्छ भनेर। हो, यही भनाइको ज्वलन्त उदाहरण भएका छन् भूपेन्द्र बुढाथोकी ।
भूपेन्द्र पेसाले नेपाल प्रहरीका इन्स्पेक्टर हुन्। दिनरात देश र जनताको सुरक्षामा खटिए पनि उनले गीत लेखन कार्यलाई पनि अगाडि बढाएका छन् ।उनको पहिचान ‘प्रहरी इन्सपेक्टर’ मात्रै होइन। उनी एक अब्बल गीतकार एवम् सर्जक पनि हुन् ।
‘हामी नेपाल प्रहरी’ बोलको गीतबाट सर्जकको रुपमा डेव्यू गरेका भूपेन्द्र सृजित करिब आधा दर्जन बढी गीतहरू बजारमा छन् । सार्वजनिक भएका प्रायः गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय छन् ।
सार्वजनिक भएका गीतहरू मध्ये ‘फूल भनौं जिन्दगीलाई’, ‘धोका माथि धोका’, ‘मुटु टुट्दा’ बोलका गीतहरू भूपेन्द्रले लेखेका निकै लोकप्रिय गीतहरुमा पर्छन्।
प्रायः सबै गीतहरू आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याउँछन् भूपेन्द्रले। उनको युट्युब च्यानल भिजिट गर्ने हो भने ‘फूल भनौं जिन्दगीलाई’ बोलको गीतले सर्वाधिक भ्युज पाएको देखिन्छ।
करिव ४ वर्ष अधि बजारमा आएको उक्त गीतमा भूपेन्द्रले मनछुने शब्दहरु लेखेका छन् । पुर्णिमा लामाको मनछुने आवाज रहेको उक्त गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाए।
जुन गीत उनको दोस्रो गीत थियो। गोबिन्द मधुर आचार्यको संगीत रहेको गीत सर्वाधिक लोकप्रिय बन्यो। अझैसम्म कालजयी छ उक्त गीत। भूपेन्द्रलाई सर्जकको रुपमा चिनायो उक्त गीतले।
उनको आफ्नै युट्युब च्यानलबाट बजारमा आएको उक्त गीतलाई हालसम्म १ करोड ३३ लाख बढी भ्युज, ६७ हजार लाइक र ३ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ। सायद यही गीतको सफलताले होला उनलाई अझै गीत लेखनमा हौसला मिल्यो। उनले निरन्तर गीत सृजना गरिरहे।
सानैदेखि कविता-गजल लेखनमा रुचि राख्ने भूपेन्द्रले आफ्ना गीतबाट थुप्रै अवार्ड समेत प्राप्त गरिसकेका छन्। जसले उनको पहिचानलाई थप बुस्ट गर्यो। त्यसो त, युट्युबको सिल्भर प्ले बटन पाउने पहिलो प्रहरी इन्स्पेक्टर पनि हुन् उनी।
करिब १ लाख बढी सब्सक्राइबरहरु उनको च्यानलमा छन्। उनका प्रायः गीतहरूमा मिलियन बढी भ्युज छ। उता दिनरात देश र जनताको सुरक्षामा खटिँदा खटिँदै भएपनि सृजना गरेका गीतले यता सफलता पाउँदा औधी खुशी छन् उनी।
उनको खुशीलाई नेपालकै चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले झन् देश विदेश पुर्याइदियो। केही हप्ता अघि उनको सफलताको छोटो स्टोरी उक्त पेजले पोस्ट गरेको थियो। जसले गर्दा उनलाई अझै धेरै नेपालीहरुले चिने।
अहिले उनी इच्छाशक्ति देखाएर निरन्तर कर्म गरिरह्यो भने सफलता हात पारिन्छ भन्ने कुराको उदाहरण बनेका छन्। नेपालको दाङमा जन्मिएका भूपेन्द्रले वि.सं. २०७३ सालमा असईबाट प्रहरी सेवा सुरु गरेका हुन् ।
हाल उनी प्रहरी इन्सपेक्टरको रुपमा मुगुमा कार्यरत छन् । गीत सृजना गर्नुका साथै नयाँ नयाँ ठाउँ घुम्न मन पराउने उनले बेलाबेला नयाँ ठाउँका तस्वीर एवम् भिडियोहरु आफ्नो फेसबुक पेजमा पोस्ट गरिरहेका हुन्छन् ।
‘संघर्ष गर्न छोड्नु हुन्न’, उनी भन्छन् , ‘एकपटक असफल भइयो भन्दैमा पछि हट्नु हुन्न। निरन्तर मिहेनत गरियो भने एकदिन अवश्य सफल भइन्छ। यही कुरालाई पछ्याउँदै मैले गीत लेखन कार्यलाई अगाडि बढाइरहेको छु। गीत सृजना गर्दा मलाई छुट्टै किसिमको आत्मसन्तुष्टि मिल्छ। व्यवसायिक भन्दा पनि आफू भित्र रहेको सृजना सबैको सामु पुर्याउन सकुँ भन्ने मनसायले मैले गीत बजारमा ल्याइरहेको हुन्छु। स्रोता-दर्शकले माया गर्नुहुन्छ खुशी लाग्छ।’
एउटा पेसामा आबद्ध हुँदाहुँदै पनि रुचिको विषयलाई अगाडि बढाइरहेका भूपेन्द्र हाल धेरैको प्रेरणाको स्रोत समेत बनेका छन्। गीत लेखन आफ्नो रुचि भएकाले अझै नयाँ नयाँ गीतहरु दर्शक स्रोतामाझ ल्याउने योजना छ उनको। अब छिट्टै नयाँ सृजना बजारमा ल्याउन लागेको उनी बताउँछन् ।