नेपालगन्ज : पछिल्लो समय थारु गीतको बजार निकै फैलिँदो छ। थारु गीतले देश विदेशका दर्शक स्रोताको मन जितेपछि निर्माताहरुले पनि थारु बजारमा ल्याउने क्रम बढ्दो छ।
यसैबीच, गायक प्रमोद डिजी र अन्नु चौधरीको आवाज रहेको नयाँ थारु गीत यतिबेला बजारमा रिलिज भएको छ। केही दिन अघि रिलिज भएको ‘यि दिल’ बोलको गीतमा उमेश मुस्कानको शब्द अनि संगीत रहेको छ।
प्रेम सम्बन्धमा रहेका युवायुवतीको बारेमा आधारित यो गीत निकै मेलोडियस छ। अन्नु र प्रमोदको आवाज निकै मिठासयुक्त सुनिएको छ गीतमा।
गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ। बाँकेका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा दुर्गा राना मगर र तिलक चौधरी भिडियोमा फिचर्ड छन् । तिलक र दुर्गाको केमिस्ट्री गजब देखिएको छ भिडियोमा।
हेर्दा सरल तर आकर्षक रहेको भिडियोलाई नवराज सुवेदीले निर्देशन गरेका हुन्। सिमित स्रोत साधनका बाबजुद पनि नवराजले गुणस्तरीय भिडियो बनाएका छन् ।
आकर्षक फ्रेममा दिनेश ओलीले खिचेको भिडियोलाई दिनेशले नै सम्पादन गरेका हुन्। भिडियो सेबिल इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको हो।