
काठमाडौं : त्यसो त आर्यन सिग्देललाई नेपाली चलचित्र क्षेत्रमा चकलेटी नायकको रुपमा चिनिन्छ। एकताका आर्यनको क्रेज निकै गजब थियो। प्रायः लभस्टोरी चलचित्रमा छाउने आर्यन पछिल्लो समय हराएका जस्तै भएका थिए।
चलचित्र भन्दा विभिन्न मेला महोत्सवमा व्यस्त बनेका आर्यनले चलचित्र ‘डिसेम्बर फल्स’बाट दर्शकमाझ पुनः चकलेटी लुक्समा प्रस्तुत भए। आर्यनले नायिका उपासना सिङ ठकुरीसँग स्क्रिन सेयर गरेका थिए यो चलचित्रमा।
रिलिज अगाडि आर्यन युग फेरि फर्किने धेरैको आँकलन थियो। तर रिलिजपछि सबै आश निराशामा परिणत भयो।
आर्यन अभिनित नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ हलमा १ हप्ता पनि राम्रोसँग टिक्न सकेन। निर्माण टिमले प्रचारप्रसार राम्रै गरेको थियो। तर चलचित्र कथावस्तु अलि कमजोर भएकै कारण चलचित्र फ्लप हुन पुग्यो भन्दा फरक नपर्ला ।
बरु आर्यनले गाएको एउटा दोहोरी गीत भने हिट छ यतिबेला। ‘डिसेम्बर फल्स’को प्रचारप्रसारको लागि चलचित्रको टिम लोकप्रिय कार्यक्रम इन्द्रेणीमामा पुगेको बेला आर्यन र उपासनाले गाएको दोहोरी यतिबेला युट्युबमा निकै रुचाइएको छ।
निकै चलेको ‘पानको पात’ बोलको लोक दोहोरी गीतमा आर्यन र उपासना लगायतले दोहोरी गाएका छन् । इन्द्रेणीको युट्युब च्यानलमा गएर हेर्दा हालसम्म ५ लाख बढी भ्युज उक्त दोहोरीमा छ। टिकटक तिर पनि आर्यनले गाएको दोहोरीका क्लिप्स निकै भाइरल छन् ।
यसरी आर्यनले खेलेको चलचित्र ‘डिसेम्बर फल्स’ एक किसिमले फ्लप भइरहँदा यही फिल्मकै प्रचारप्रसारका लागि गाइएको दोहोरी हिट हुँदा दर्शक अचम्ममा परेका छन् । किनभने आर्यनले यस् अघि कतै पनि प्रत्यक्ष दोहोरी गाएका थिएनन् ।
जे होस् एकातिर फिल्म नचलिरहेको बेला आर्यनले गाएको दोहोरी त हिट भयो। ‘डिसेम्बर फल्स’ फ्लप भएपनि आर्यन र उपासना भने अर्को छुट्टाछुट्टै नयाँ चलचित्रमा अनुबन्धित भइसकेका छन् ।