काठमाडौं : फिल्म क्षेत्रमा पाइला चाल्दै गर्दा जोकोही कलाकार पनि लाग्छ कि आफू अभिनित फिल्म चलोस, आफूलाई चिनाओस्। अझ भनौं आफूले काम गरेको फिल्मले हलमा राम्रो व्यापार गरोस् ।
यस्तै चाह थियो अभिनेता अरुण क्षेत्री र अभिनेत्री अन्जना बराइलीलाई। यि दुबै फिल्म क्षेत्रका लागि नयाँ अनुहारहरु हुन्। संयोगबस अरुण र अन्जना दुबैले एकसाथ एकै फिल्मबाट डेव्यू गरे।
उनीहरुले डेव्यू गरेको फिल्म हो ‘महापुरुष’। जुन फिल्मले यतिबेला अरुण र अन्जनालाई निकै चर्चा दिइरहेको छ। यो फिल्मले हलमा दर्शकको अत्याधिक साथ पायो।
दर्शकको राम्रो साथ पाउँदै फिल्मले हालसम्म ११ करोड बढी ग्रस कलेक्सन समेत गरिसकेको छ। गत कार्तिक ११ गतेबाट प्रदर्शन आएको यो फिल्म हाल आठौं हप्तामा प्रदर्शनरत छ।
यति मात्रै कहाँ होर फिल्मले शनिबार प्रदर्शनको ५१ औं दिन समेत पूरा गर्यो। जसको अवसरमा फिल्म टिमले शनिबार नै काठमाडौंमा केक काटेर खुशी पनि मनायो।
आफू अभिनित फिल्मले ५१ औं दिन मनाउला भन्ने कुरा त अरुण र अन्जनाको लागि सपनाको कुरा थियो। तर सपना पूरा भएको बताउँछन् अरुण-अन्जना। यतिबेला यि दुबैजना निकै खुशी छन् ।
‘पहिला पहिला रेडियोमा समाचार सुनेर, पत्रीकामा पढेर फिल्मले ५१ औं दिन मनाएछ भनेर थाहा पाउँथे’, अरुणले फिल्मीपत्रासँगको कुराकानीमा भने, ‘यसरी आफूले अभिनय गरेको फिल्मले ५१ औं दिन मनाउला भन्ने त कहिल्यै सोचेको थिइनँ। आफूले काम गरेको फिल्मले ५१ औं दिन मनाउन सफल भयो निकै खुशी छु। महापुरुष टिमप्रति कृतज्ञ छु।’
त्यस्तै अन्जनाले पनि यसरी फिल्मले ५१ औं दिन मनाउला भनेर नसोचेको बताइन्। डेव्यू फिल्मको नै प्रदर्शनको ५१ औं दिन मनाउन पाइएकोमा निकै खुशी भएको अन्जनाले बताइन् ।
यसरी डेव्यू फिल्मबाटै ५१ औं दिनको स्वाद बिरलै नायक- नायिकाले चाख्न पाउँछन्। तर यो कुरामा भने अरुण र अन्जना लक्की सावित भए भन्दा फरक नपर्ला।
‘महापुरुष’मा अन्जना र अरुणको अभिनयको निकै तारिफ भएको थियो। उनीहरुले फिल्ममा जीवन्त अभिनय गरेका छन् । फिल्म हेर्दा उनीहरु डेव्यू कलाकार हुन् भन्ने आभाष हुँदैन।
डेव्यू फिल्मले राम्रै चर्चा दिएपछि अन्य फिल्मको पनि अफर आइरहेको तर साइन चाहिँ नगरेको अरुणले बताए। त्यसो त, अन्जना पनि अब नयाँ फिल्मको तयारीमा रहेको बताइन् ।
छोराछोरीको खुशीको लागि आफ्नो खुशी एवम् रहर दबाएर राख्ने एक एकल पुरुषको कथामा आधारित यस् फिल्मका लेखक एवम् निर्देशक प्रदीप भट्टराई हुन् । फिल्ममा शान्तिम कोइराला सहायक निर्देशकको रुपमा रहेका छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । यस् फिल्मको पब्लिसिटी डिजाइनर तथा पोस्टर डिजाइनर रोयल भिमसेन हुन् ।
फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।