काठमाडौं : त्यसो त लोकप्रिय नायक अनमोल केसीलाई सार्वजनिक कार्यक्रममा सितिमिति देख्न पाइँदैन । रिजर्भ स्वभावका अनमोल केही काम विशेष बाहेक नत कुनै कार्यक्रममा सरिक हुन्छन् नत मिडियामा नै।
तर सोमबार भने अनमोल दिनभर चन्द्रागिरीमा देखिए। नायक सलोन बस्नेतको वैवाहिक कार्यक्रममा सरिक हुन पुगेका अनमोल चन्द्रागिरीमा लामो समय रहे।
सलोन मिल्ने साथी भएकोले अनमोल बधाई दिन चन्द्रागिरी पुगेका हुन्। अनमोलले सलोन दम्पतीलाई अंकमाल गरेर वैवाहिक जीवनको शुभकामना दिएका थिए।
त्यसै अनमोलसँगै अर्का नायक सलिनमान बानियाँलाई पनि सोमबार संगै देख्न सकिन्थ्यो। निकै मिलेर सलिन र अनमोल गफिएका थिए चन्द्रागिरीमा।
यि दुईको सम्बन्ध राम्रो छैन, दुईबीच दुश्मनी छ भन्ने हल्ला केही समय अघि बजारमा बाहिरिएको थियो। तर त्यो हल्ला मात्रै रहेछ। किनकी सोमबार अनमोल र सलिनमान निकै हर्षित मुहारमा एकआपसमा लामो समय गफ गरेका थिए।
सलिनमान र अनमोल सलोनका मिल्ने साथी हुन् । यि तीनजना एकैपटक संगै सार्वजनिक रुपमा देखिएका थिएनन् । तर सलोनको विवाहले यो माहोल जुरायो।
सलोनले नेपाल एयरलाइन्सको एयर होस्टेज करिश्मा केसीसँग लगनगाँठो कसेका हुन् । करिब तीन वर्षदेखि करिश्मा केसीसँग प्रेम सम्बन्धमा रहेका सलोनले सोमबार प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।