
काठमाडौं : निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’ यतिबेला पाँचौ हप्तामा प्रदर्शनरत छ। गत कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको यस् चलचित्रलाई पाँचौं हप्तासम्म आइपुग्दा पनि दर्शकको माया एवम् साथ उत्तिकै छ।
लगातार ३२ औं दिनसम्म सफलताको साथ चलचित्र प्रदर्शन भएपछि चलचित्र टिमले आइतबार काठमाडौंमा मिडियाकर्मीसँग विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ।
चलचित्रका सम्पुर्ण टिम र मिडियाकर्मीको उपस्थितमा केक समेत काटेर निर्माण टिमले खुशी साटेको छ। मिडियाकर्मीसँग बोल्दै चलचित्रले हालसम्म १० करोड १४ लाख ग्रस कलेक्सन गरेको निर्माता म्याक्स दिपेश खत्रीले बताए।
महिनादिन सम्म पनि दर्शक एवम् मिडियाकर्मीको साथ अतुलनीय रुपमा पाएको भन्दै निर्माण टिमले धन्यवाद समेत ज्ञापन गरेको छ।
‘महापुरुष’लाई दर्शकले दिएको मायाले थप अर्को चलचित्र निर्माण गर्ने आँट एवम् हौसला मिलेको निर्माण टिमले जनाएको छ।
महापुरुष’मा प्रदीपको निर्देशनसँगै लेखन पनि रहेको छ। षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।चलचित्रका पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भिमसेन हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।