
नेपालगन्ज : नेपाली चलचित्र क्षेत्रमा आफ्नो बेग्लै छाप बनाएका निर्देशक हुन् प्रदीप भट्टराई। संख्यात्मक भन्दा पनि गुणात्मक चलचित्र निर्देशन गर्न रुचाउने प्रदीप एक सफल निर्देशक पनि हुन् ।
पहिलो चलचित्रबाटै आफुलाई अब्बल र सफल निर्देशकको रुपमा स्थापित गरेका प्रदीप एक अब्बल लेखक पनि हुन् । ‘जात्रा’ चलचित्रबाट निर्देशनमा होमिएका प्रदीपले ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ गरि हालसम्म ४ वटा चलचित्र निर्देशन गरिसकेका छन् ।
प्रायः कमेडी जनराका चलचित्र निर्देशनमा सफल मानिएका प्रदीप निर्देशित पछिल्लो चलचित्र ‘महापुरुष’ भने अलि फरक छ। उनले पहिले लेखेका र निर्देशन गरेका चलचित्र भन्दा ‘महापुरुष’ नितान्त बेग्लै छ। जुन चलचित्र यतिबेला नेपाल लगायत विदेशका हलहरुमा प्रदर्शनरत छ।
देश विदेशका दर्शकले यस् चलचित्रलाई अत्तिनै रुचाएका छन् । चलचित्रको सबै पक्ष उत्कृष्ट भएकोले सबै दर्शकको मुखबाट प्रशंसा मिलिरहेको छ।
प्रदीपले ‘महापुरुष’मा हसाउँदा हसाउँदै रुवाएका छन् दर्शक। जुनकुरा यत्रतत्र छरपस्ट छ। किनकी गत कार्तिक १२ गतेबाट प्रदर्शनमा आएको ‘महापुरुष’ अब आगामी शुक्रबारबाट चौथो हप्तामा प्रवेश गर्दैछ।
प्रदर्शनको दिनदेखि लगातार तेस्रो हप्तासम्म दर्शक लगायत विशिस्ट व्यक्तिहरुको अथाह साथ र राम्रो प्रतिक्रिया पाएको ‘महापुरुष’ एउटा चलचित्र मात्र नभएर इमोसन पनि रहेको निर्देशक भट्टराई बताउँछन् ।
‘चलचित्र हेरेपछि तपाईं खुशी हुनुहुन्छ बा ? खुशी हुनुहुन्छ आमा ? भन्ने आँट चाहिँ एकपटक सन्तानमा आइदेओस भन्नका लागि हामीले ‘महापुरुष’ बनाएका हौं’, प्रदीप भन्छन् ,’यो चलचित्र हामी सबैका लागि हो। ‘महापुरुष’ चलचित्र मात्रै होइन एउटा इमोसन पनि हो। किनकी रमाइला चलचित्रहरु हामीले त्यत्रो बनाइसकेका छौँ। फेरि हाम्रो इमेज पनि त्यस्तै छ रमाइलो चलचित्र बनाउनुहुन्छ भनेर। हामीले त्यो धर्म पनि यस् चलचित्रमा छोडेका छैनौं ।’
त्यसो त, ‘महापुरुष’ चलचित्र हलमै हेरेर नसकिने चलचित्र भएको प्रदीपको भनाइ छ। दर्शकले हेरिसकेपछि दिमागमा बोकेर हलबाट घरसम्म लैजाने खालको चलचित्र ‘महापुरुष’ रहेको र त्यो कुरा पाइएको पनि प्रदीप बताउँछन् ।
हाल ‘महापुरुष’ले नेपालमा मात्र नभएर बाहिरी देशमा पनि सफलताका हाउसफुल व्यापार गरिरहेको छ। यस् अघिका प्रदीप निर्देशित ३ चलचित्र लगातर हिट चलचित्रमा गनिन्छन् । ‘महापुरुष’ले पनि प्रदीपलाई हिट निर्देशकको पहिचानमा थप पहिचान थपिदिएको छ।
‘महापुरुष’मा प्रदीपको निर्देशनसँगै लेखन पनि रहेको छ। षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । चलचित्रका पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भिमसेन हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।