काठमाडौं : यतिबेला नेपाली कलाकारहरुलाई चुनावको प्रचारप्रसार गर्नमा भ्याइनभ्याई छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कोही कलाकार उम्मेदवारमा उठेका छन् त कोही कलाकार उम्मेदवारका सहयोगीको रुपमा छन् ।
त्यसो त, निर्वाचनको लागि उम्मेदवारी दिएका कलाकारहरु मतदातामाझ प्रचारप्रसारमै व्यस्त हुने नै भए। तर अन्य कलाकारहरु पनि एकदम व्यस्त देखिएका छन् ।
अधिकांश कलाकारहरु आफुलाई मनपर्ने पार्टीका उम्मेदवारलाई भोट माग्न व्यस्त देखिएका छन् सामाजिक संजालमा। धेरैले फलानो नेतालाई भोट गरौं भन्दै खुलेआम आफ्नो फेसबुक अकाउन्टमा भोट माग्ने गरेमा छन् ।
यसैबीच, पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानले पनि सामाजिक संजाल टिकटक र फेसबुकमा नेपाली कांग्रेसलाई भोट गर्न आग्रह गर्दै भिडियो पोस्ट गरेकी छिन् ।
केही दिन अघि आफुले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी डाक्टर आर्जु राणालाई भेट्दा निकै खुशी लागेको भन्दै नेपाली कांग्रेसलाई सबैले भोट हालेर जिताउन उनले भिडियोमा आग्रह गरेकी छिन् ।
‘आर्जु म्याम र प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूलाई भेट्दा बाहिर जे सुनिन्थ्यो त्यो भन्दा फरक पाएँ’, एलिनाले भिडियोमा भनेकी छिन् , ‘आर्जु म्याम र प्रधानमन्त्रीज्यूले मसँग प्रत्यक्ष कुरा गर्नुभयो।उहाँहरुलाई भेट्दा एकदम खुशी लाग्यो। कलाकारहरुको बारेमा आजसम्म कसैले पनि सोच्दिनुभएको थिएन। तर कलाकारको बारेमा पनि सोचिदिने नेपाली कांग्रेस मात्रै पाएँ। त्यसैले मैले आफ्नो भोट चाहिँ नेपाली कांग्रेसलाई दिने निर्णय गरेँ। तपाईहरु पनि जसलाई सजिलो लाग्छ उहाँलाई भोट दिनुहोला।’
भिडियोमा एलिनाले आफु केही दिन अगाडि प्रधानमन्त्री ज्यूलाई भेट्न जानुको कारण कुनैपनि राजनीतिक आस्था नभएको बताए पनि अन्तिममा चाहि नेपाली कांग्रेसलाई भोट हाल्छु भनेर सार्वजनिक रुपमा भन्दा एलिनाले कांग्रेस प्रति आस्था राखेको कुरा स्पष्ट हुन्छ।
उसो त, नेपाली कांग्रेसलाई भोट दिन्छु भनेर फेसबुकमा सार्वजनिक गरेको भिडियोमा चौतर्फी नराम्रो कमेन्ट आएपछि एलिनाले उक्त भिडियो हटाएकी छिन् । तर टिकटममा भने उनले हटाएकी छैनन् ।