काठमाडौं : प्रदर्शनको तेस्रो हप्तासम्म आइपुग्दा पनि चलचित्र ‘महापुरुष’को क्रेज भने हलमा झन् बढ्दो छ। दिनानुदिन दर्शकहरुको संख्या हलमा बढिरहेको छ।
बालबालिकादेखि लिएर बृद्धअबश्था भएका दर्शकको मन जित्न सफल भएको यस् चलचित्रले निकै राम्रो प्रतिक्रिया पाइराखेको छ।
त्यसो त, विशिष्ट ओहदामा रहेका व्यक्तित्वहरुले समेत ‘महापुरुष’ हेरेर राम्रो प्रतिक्रिया दिनुका साथै चलचित्रको तारिफ गरेका छन् ।
यसैबीच, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि आइतबार ‘महापुरुष’ हेरेर राम्रो प्रतिक्रिया दिए। चलचित्र हेरेसकेपछि उनले चलचित्रटिमसँग मिडियाको अगाडि आफ्नो अनुभव सुनाएका थिए।
सामाजिक विषयवस्तु भएका चलचित्र आफुले हेर्न रुचाउने भन्दै २५ वर्षपछि हलमा आएर ‘महापुरुष’ हेरेको कुलमानले मिडियाको अगाडि बताएका थिए।
‘चलचित्र एकदम राम्रो छ’, कुलमानले भने, ‘राम्रो स्क्रिप्ट, राम्रा कलाकार, राम्रो परिवेश समेटेको सामाजिक विषयवस्तु ‘महापुरुष’मा पाएँ। नेपाली समाजको घटनासँग जोडिएको छ चलचित्र। महापुरुषभित्र गुम्सिएका कुराहरू के रहेछन् भन्ने कुराहरु देखाउनुभएको छ। एकदम राम्रो लाग्यो।’
साथै, कुलमानले ‘महापुरुष’को कथावस्तु सबैको घटनासँग मिल्ने पनि बताए। कुलमानले यसै चलचित्रका निर्देशक एवम् लेखक प्रदीप भट्टराई, कलाकार अरुन क्षेत्री, अन्जना बराइली, रबिन्द्र सिङ बानियाँको अगाडि चलचित्र हेरेपछिको अनुभव सुनाएका थिए।