
काठमाडौं : नेपाली बक्स अफिसमा सुपर हिट हुन सफल चलचित्र ‘नाईं नभन्नु ल’को छैठौं सिरिज यतिबेला फ्लोरमा छ। छायांकनकै लागि निर्माण टिम पछिल्लो केही दिनयता झापाको बिर्तामोडमा छ।
बिर्तामोडमा विभिन्न दृश्यहरु खिचिरहेको छ टिमले। यसैक्रममा, बिर्तामोडमै छायांकन हुँदाहुँदैको चलचित्रको एक दृश्य बाहिरिएको छ।
चलचित्रका मुख्य कलाकार आँचल शर्मा र आशिर्वाद क्षेत्रीको एउटा दृश्य यतिबेला सामाजिक संजाल टिकटकमा भाइरल भएको छ। टिकटकमा बाहिरिएको भिडियो फुटेजमा आँचलले आशिर्वादलाई जेब्रा क्रसिँङबाट बाटो कटाउन सहयोग गरेको देखिन्छ।
जुन दृश्यमा आशीर्वाद नेत्रहीन अवस्थामा देखिएका छन् । लठ्ठीको सहारामा बाटो काट्दै गर्दा नेत्रहीन आशीर्वादलाई आँचलले सहयोग गरेर सडक पार गराउँछिन् । जुन फुटेज ‘नबिन_एनएक्स’ नामको टिकटक प्रयोगकर्ताले आउट गरेका हुन् ।
यसरी प्रदर्शन अगावै चलचित्रको दृश्य बाहिरिनु पक्कै पनि राम्रो कुरा भने होइन। बाहिरिएको उक्त दृश्यबाट आशीर्वादको क्यारेक्टर चलचित्रमा कस्तो खालको छ भनेर स्पष्ट थाहा हुन्छ। यसरी छायांकन गर्दागर्दैको दृश्य लिक हुनुमा सुटिङ युनिटको कमजोरी देखिन्छ।
जे होस् , आशिर्वाद नेपाली चलचित्र क्षेत्रको लागि नयाँ अनुहार हुन् । उनले यसै चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गर्दै छन् । चक्लेटी लुक्स अनि फिट ज्यान भएका आशिर्वादले नायिका आँचल शर्मासँग पहिलोपटक स्क्रिन सेयर गर्दैछन् ।
चलचित्रलाई आगामी नयाँ वर्ष २०८० साल वैशाख १ गते प्रदर्शन गर्ने निर्माण टिमको निर्णय रहेको छ। चलचित्रमा नायिका आँचल शर्मा र नव नायक आशीर्वाद क्षेत्रीको प्रेम अनि रोमान्स रहने बताइएको छ।
चलचित्रमा विकाश आचार्यको निर्माण र निर्देशन रहेकोछ। बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई चलचित्रमा समावेश गरिएको बताइएको छ।
चलचित्रको कथा एवम् पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
निर्माण टिमका अनुसार चलचित्रमा ९ वटा गीत रहनेछन् । गीतमा वसन्त सापकोटा र भुपेन्द्र रायमाझीको संगीत रहनेछ।
आँचल र आशिर्वादका अलवा चलचित्रमा अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना लगायतको समेत प्रमुख भुमिका रहेको छ।