काठमाडौं : यतिबेला नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरी सुटिङमा निकै व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रमा चकलेटी नायकको रुपमा चिनिने नायक आर्यन र लक्की नायिका भनेर चिनिने उपासना चलचित्र ‘डिसेम्बर फल्स’को सुटिङ पछिल्लो केही हप्तायता निकै व्यस्त देखिएका छन् ।
आर्यन र उपासनाले भर्खरै मात्र ‘डिसेम्बर फल्स’का केही गीतको छायांकन सकाएका छन् । लामो समयपछि चलचित्रमा कमव्याक गर्न लागेका आर्यन यो चलचित्रबाट निकै आशावादी छन् । चलचित्र आगामी पौष १५ गतेबाट प्रदर्शनमा आउँदैछ।
त्यस्तै, उपासनाले पनि यो चलचित्रबाट निकै आश गरेकी छिन् । किनकि यस् भन्दा अघिका उपासना अभिनित ‘क्याप्टेन’, ‘कबड्डी ३’ र ‘दुई नम्बरी’ गरि ३ चलचित्रले नेपाली बक्स अफिसमा निकै राम्रो व्यापार गरेर हिट हुन सफल भइसकेका छन् ।
चलचित्र सफलतामा ह्याट्रीक गर्न सफल उपासनाको यो चलचित्र पनि दर्शकले रुचाउनेमा उनी ढुक्क छिन् ।
त्यसो त, केही हप्ताअघि ‘डिसेम्बर फल्स’को फर्स्टलुक पोस्टर आउट गरिएको थियो। दुई छुट्टाछुट्टै पोस्टरमा आर्यन र उपासना भिन्नाभिन्नै अवतारमा प्रस्तुत भएका थिए। जुन पोस्टरबाट दर्शकहरु चलचित्रलाई लिएर निकै उत्साहित भएका छन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । चलचित्रमा राजकुमार भट्टको पनि लगानी छ । बीपीका खनालको कथा रहेको चलचित्रको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् ।
आर्यन र उपासनाले पहिलोपटक एकसाथ काम गर्दैछन् । रिलिजका हिसावले उपासना अभिनित यो चलचित्र चौथो हो। त्यसो त, आर्यन पनि लामो समयपछि यसै चलचित्र मार्फत दर्शकमाझ प्रस्तुत हुँदैछन् ।
चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा रोहित, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मीपत्र
प्रतिक्रिया