काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाखे’ यतिबेला हलमा प्रदर्शनरत छ। चलचित्रले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।
त्यसो त, चलचित्रले दर्शकको साथ समेत औसत पाएको छ । हेर्नेजति दर्शकले चलचित्रको तारिफ गरेका छन् । दर्शकले मात्र होइन अधिकांस चलचित्रकर्मीले समेत चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिएका छन् ।
चलचित्रकर्मीहरुको लागि निर्माण टिमले विशेष शोको व्यवस्था गरेको थियो। प्रायः चलचित्रकर्मीहरु विशेष शोमा उपस्थित थिए। ‘लाखे’ हेरेपछि साँच्चिकै बलिउड चलचित्र हेरेको आभास भएको प्रतिक्रिया विशेष शो हेर्नेहरुको थियो।
विशेष शो हेर्न निर्देशक एवम् अभिनेत्री दिपाश्री निरौला समेत पुगेकी थिइन् । शो हेरेपछि दिपाश्रीले मोडियाकर्मीसँग छोटो कुराकानी गरेकी थिइन् ।
‘विषयवस्तु अनुसार त एकदम इन्ट्रेस्टिङ छ’, दिपाले मिडियाकर्मीसँग बोल्दै भनिन्, ‘फिल्मले यस्तो बाँधेर राख्छ। म चाहिँ अब ‘लाखे’ विषयवस्तु भनेपछि अर्कै किसिमको सोच बनाएर आएको थिएँ। कल्चरहरुलाई निभाउनु हुन्छ जस्तो लागेर आएको थिएँ। तर लाखेलाई यस्तो मीठो तरिकाले प्रयोग गर्नुभएको छ टिमले, एकदम इन्ट्रेस्टिङ। विषयवस्तु अनुसार फिल्म सुपर छ।’
साथै दिपाले ‘लाखे’ जस्तो चलचित्र दर्शकले एकपटक हेर्नै पर्ने बताएकी थिइन् । दिपाका अलवा कलाकार निर्मल शर्मा ‘गैंडा’ले पनि चलचित्रको प्रशंसा गरेका थिए।
एक्सन, थ्रीलर र सस्पेन्स जनरामा आधारित चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रका पब्लिसिटी तथा पोस्टर डिजाइनर रोयल भिमसेन हुन् ।
चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।