काठमाडौं : सोमबार दिनभर नेपाली सांगीतिक क्षेत्रको एउटा आश्चर्यजनक खबर जताततै फैलियो। खबर थियो ‘गायक प्रकाश दुतराजद्वारा अष्ट्रेलियामा आत्महत्या प्रयास’ भन्ने बारे।
स्रोतका अनुसार आइतबार राति दुतराजले आफू बसेको अष्ट्रेलियाको एक कोठामा झुन्डिएर आत्महत्या प्रयास गरेका थिए।
जुन खबर बाहिरिए लगत्तै विभिन्न मिडियाबाट समाचारहरु समेत प्रकाशित भए। जसले गर्दा एउटा राम्रो लोकप्रियता कमाएका गायक प्रकाश दुतराजका आफन्त लगायत शुभचिन्तकलाई दुखित तुल्यायो।
अन्ततः उनै प्रकाशले सोमबार राति करिब पौने १२ बजेतिर फेसबुकमा एउटा स्टाटस लेख्दै आफ्नो आत्महत्या प्रयासको समाचारको खण्डन गरेका छन् ।
‘धेरै समाचारहरु हेरेँ, पढेँ अलिक अप्ठ्यारो असजिलो महसूस गरेँ’, उनले लेखेका छन् , ‘म केहिछिन हराउनु म मर्नु हैन नि। माया गर्नेहरुको आँशुले सराप्छ कसरी मार्न सक्थेँ र यो शरीरलाई।’
समाचारका कारण आफ्नो परिवार र आफन्त एवम् शुभचिन्तकलाई असजिलो भएको उनले गुनासो गरेका छन् । समाचारपछि घरबाट मधुर बोलीमा आमाको फोन आएको पनि उनले बताएका छन् ।
‘बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दुखले जन्माएको हुर्काएको होईनौँ नि’ प्रकाशले स्टाटसमा लेखेका छन् ।
त्यसो त, कहिलेकाहीँ आफू त्यतिकै हराइदिने र कहिलेकाहीँ अध्यारो बन्द कोठा भित्र घण्टौसम्म आफैलाई थुनिदिने गरेको पनि प्रकाशले बताएका छन् ।
‘कहिलेकाहीँ हताइदिन्छु यसै यसै, कहिले हरियाली पाखा पखेरि, उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै’, उनले लेखेका छन् , ‘कहिले अध्यारो बन्द कोठा भित्र घण्टौसम्म आफैलाई थुनिदिन्छु। हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन। यसलाई रोग भनौं या मेरो विशेषता। यही कारण पनि म आफुले आफैँलाई दुखी बनाउँछु।’
गलत बुझाई एवम् सुचनाको आधारमा प्रकाशित समाचारहरुले आफुलाई माया गर्ने र सदा आशीर्वाद दिने सबै सबैमा पर्न गएको असरप्रति क्षमा मागेको पनि प्रकाशले स्टाटसमा उल्लेख गरेका छन् ।
हाल उनी अष्ट्रेलियामै छन् । सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० मा नेपालबाट गायिका भुमिका गिरी र गायक प्रकाश दुतराज अष्ट्रेलिया पुगेका थिए। अष्ट्रेलियामा केही ठाउँमा कार्यक्रम गरिसकेका दुबैजना अब केही बाँकी कार्यक्रम सकाएर केही दिनपछि नेपाल फर्किँदै छ्न।
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘जाम भो माइली’, ‘रेलिमाई’ , ‘मन भुल्छ’ लगायतका लोकप्रिय गीत दर्शकमाझ प्रकाशले पस्किसकेका छन् ।
केही हप्ता अघि मात्रै भुमिकासँग प्रकाशले नयाँ गीत ‘देउरालीमा’ बजारमा ल्याएका थिए। जुन गीत यतिबेला चर्चामा छ।