
नेपालगन्ज : गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाखे’ यतिबेला हलमा प्रदर्शनरत छ। सम्राट बस्नेत निर्देशित ‘लाखे’ले हेर्नेजति दर्शकको निकै राम्रो प्रतिक्रिया पाएको छ।
रिलिज अगावै राजधानीमा यस् चलचित्रको प्रिमियर शो र भिआइपी शो समेत गरिएको थियो। विशेष शोमा समेत चलचित्रलाई निकै रुचाइयो। विशेष शो हेरेका गेस्टले चलचित्रको खुलेरै तारिफ गरे।
विशेष शो हेर्न गएकी अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौलाले विषयवस्तु अनुसार चलचित्र सुपर भएको बताएकी थिइन्। अन्य चलचित्रकर्मीहरुले पनि विशेष शो हेरिसकेपछि चलचित्रले सुरुदेखि अन्तिनसम्म बाँधेर राख्ने प्रतिक्रिया दिएका थिए।
चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
त्यसो त, चलचित्र हेरिरहँदा सुरुदेखि अन्तिमसम्म चलचित्रले दर्शकलाई बाँधेर राख्छ। अब के होला ? अब के होला ? भन्दाभन्दै सकिन्छ चलचित्र। मल्टिस्टारहरुको अभिनय निकै गजब लाग्छ चलचित्रमा।
नाम चलेका कलाकारहरु धेरै भएपनि चलचित्रमा सबैको क्यारेक्टर अनि भुमिका बराबर दिइएको छ। मिलाएर कुनै कलाकारलाई छायाँमा नपारि क्यारेक्टर दिइएको छ। यो चलचित्रको निकै राम्रो पक्ष हो ।
एक्सन, थ्रीलर र सस्पेन्स जनराको चलचित्र मन पराउने दर्शकले छुटाउनै नहुने चलचित्र हो यो। साँच्चिकै चलचित्रले एक्सन, थ्रीलर र सस्पेन्सको वास्तविक मज्जा दिन्छ।
चलचित्र हेरिरहँदा चलचित्रको कथावस्तु, दृश्य, एक्सन अनि यसपछि के होला ? भन्ने कौतुहलताले दर्शकलाई दिक्क लाग्दैन।
सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।
चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।