नेपालगन्ज : यतिबेला मोफसलका हलहरुमा दर्शकसँग साक्षात्कार गर्दैमा व्यस्त छ चलचित्र ‘महापुरुष’ टिम। आज शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रको टिम बुधबार नेपालगन्ज आएको थियो।
नेपालगन्जको क्युएफएक्स बागेश्वरीमा दर्शकसँग भेटघाट र मिडियाकर्मीसँग साक्षात्कार गरेको टिम यतिबेला लुम्बिनी पुगेको छ। टिमले लुम्बिनीमा भगवान् गौतम बुद्धको दर्शन गर्नुका साथै विभिन्न मन्दीरहरु समेत भ्रमण गरेको छ।
चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली लगायतको टिमले शुक्रबार लुम्बिनी भ्रमण गरेको हो।
‘महापुरुष’ टिम नेपालगन्ज, दाङ, बुटवल हुँदै लुम्बिनी पुगेको हो। टिमले आज शुक्रबार चितवनका दर्शकसँग भेटघाट गर्नेछ। टिमलाई मोफसलका दर्शकको असाध्यै साथ समेत मिलेको छ।