
नेपालगन्ज : यतिबेला देशभरका हलहरु चलचित्र ‘महापुरुषमय’ बनेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको यस् चलचित्रले हलमा दर्शकको राम्रो साथ समेत पाइरहेको छ।
दर्शकको साथलाई मध्यनजर चलचित्र टिम हल भिजिटमा व्यस्त छ। हलमा दर्शक भेट्दै प्रतिक्रिया लिनेक्रममा ‘महापुरुष’ टिम बुधबार नेपालगन्ज आइपुगेको थियो।
चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराईली र चलचित्रका पोस्टर डिजाइनर रोयल भिमसेनले नेपालगन्जको क्युएफएक्स बागेश्वरीमा दर्शकसँग भेटघाट गरेका थिए।
एकैछिन अगाडि पर्दामा देखिएका कलाकारहरूलाई आखैँ अगाडि प्रत्यक्ष देख्न पाउँदा दर्शकहरु निकै उत्साहित बनेर कलाकारसँग तस्वीर समेत लिएका थिए।
चलचित्रको टिम नेपालगन्ज आएको भएर होला बुधबार साँझको शोमा दर्शकको खचाखच भिड थियो। साँझको शो लगभग हाउसफुल भएको छ। अन्य दिनको तुलनामा बुधबार साँझको शो हेर्न आउने दर्शकको संख्या अधिक थियो।
दिउँसो हलमा चलचित्रका कलाकारहरु आएको प्रत्यक्ष सकारात्मक प्रभाव साँझको शोमा परेको हलले जनाएको छ।