नेपालगन्ज : अभिनेता मुकुन भुसाललाई नेपालगन्जमा स्वागत एवम् सम्मान गरिएको छ। मंसिरपछि छायांकनमा जाने नयाँ चलचित्रको लोकेशनको लागि नेपालगन्ज आएका मुकुनलाई चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले स्वागत अनि सम्मान गरेको हो।
सोमबार नेपालगन्जमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाका कार्यसमिति टिमको उपस्थितिमा अभिनेता भुसाललाई खादा र मालासहित सम्मान गरिएको हो।
स्वागत एवम् सम्मान पछि अभिनेता भुसालले बाँकेका चलचित्र पत्रकारहरु संग अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा उनले आफ्नो विगतदेखि अहिलेसम्मको कलाकारिताको अनुभव साटेका थिए।
पत्रकारहरुसंग बोल्दै तिहारमा दिदिसंग टीका लगाउन र नयाँ चलचित्रको लागि लोकेशन हेर्न नेपालगन्ज आएको उनले बताएका थिए।
त्यसो त, चलचित्र अभिनय सम्बन्धि अध्ययन गर्न भारत जाँदा नेपालगन्ज भएर आउने जाने गरेको र आफ्नो दिदिको घर पनि यतै भएकोले नेपालगन्ज आत्मीय लाग्ने उनको भनाइ थियो।
चलचित्रको लागि नेपालगन्जमा पनि धेरै सम्भावना रहेको र खोतल्न सके चलचित्र क्षेत्रलाई धेरै राम्रो हुने उनले बताए।
मोफसलमा रहेको नेपाली चलचित्र सम्बन्धि नेपालगन्जका पत्रकारहरुले दिएको योगदान सराहनीय रहेको र आगामी दिनमा पनि रिलिज हुने सम्पुर्ण चलचित्रलाई सहयोग गर्न उनले पत्रकारलाई अनुरोध समेत गरेका थिए।
तिहारमा भाइटिका लगाउन दिदिको घर आएका उनी केही दिनदेखि नेपालगन्जमै छन् । उनी पत्रकार भेटघाट एवम् विभिन्न कार्यक्रममा सहभागी हुनमा व्यस्त छन् ।
उनले अभिनय गरेका चलचित्र संख्यात्मक हिसाबले निकै कम छन् । अझै भनौं दुई वटा मात्र रिलिज भएका छन् उनले अभिनय गरेका चलचित्र। तर पनि निकै सुपरहिट बन्न सफल भएका छन् ।
‘बुलबुल’ र ‘झिंगे दाउ’ उनी अभिनित दुई हिट चलचित्र हुन् । अब नयाँ चलचित्र प्रदर्शनको तयारीमा छ।