नेपालगन्ज : त्यसो त, ट्रेलर सार्वजनिक भएलगत्तै दर्शकको प्रतिक्षाको केन्द्रमा रहेको चलचित्र हो ‘महापुरुष’। ट्रेलरमा देखाइएका दृश्यले नै दर्शकलाई कहिले चलचित्र हलमा लाग्ला भन्ने कौतुहलता सुरु भईसकेको थियो।
अन्ततः शुक्रबारबाट चलचित्र हलमा प्रदर्शन भइरहेको छ। सुरुको दिनमै चलचित्र हेर्न आउने दर्शकको संख्या निकै बाक्लो छ। राजधानीमा त अधिकांश हलहरु हाउसफुल थिए शुक्रबार ।
यता राजधानी बाहिर नेपालगन्जको कुरा गर्ने हो भने दर्शकको संख्या सन्तोसजनक नै थियो। सायद तिहार मनाउन घर गएको भएर होला शुक्रबार अनुमान गरिए अनुसार दर्शकको उपस्तिथि थिएन। तर जति दर्शकले चलचित्र हेरे सबैले राम्रो प्रतिक्रिया दिएका थिए।
शुक्रबार बिहानै ८ बजेको शो’मा त अधिकांश दर्शकहरु परिवारको जम्बो टोलीसंग ‘क्युएफएक्स सिनेमान बागेश्वरी’मा ‘महापुरुष’ हेर्न आएका थिए। त्यही जम्बो टोलीमै थिइन् एक बुढी आमा।
अन्दाजी टिन बुढी आमाको उमेर सायद ८० वर्ष कटेको हुनुपर्छ । चलचित्र हेरिसकेपछि भावुक हुँदै हलबाट निस्केकी ती बुढी आमाले परिवारका सदस्यसंग हल प्राङ्गणमा तस्वीर समेत खिचाइन।
उसो त, सितिमिति बुढा बुवा आमाहरु चलचित्र हेर्नकै लागि हलसम्म आउन निकै झिँजो मान्छन् । तर ती बुढी आमा चाहिँ ‘महापुरुष’ हेर्न आउनु भनेको निकै राम्रो कुरा हो।
सायद ती बुढी आमाको परिवारले ‘महापुरुष’ हाम्रै कथा हो भनेर भनेको भएर होला, आफ्नो स्वास्थ्यको समेत निर्वाह नगरी बिहानैको पहिलो शो ती आमाले हेरेकी थिइन् ।
चलचित्र हेर्दा हेर्दै आँशु खसेको पत्तै नभएको ती बुढी आमा लगायत नेपालगन्जमा पहिलो शो हेर्ने दर्शकको प्रतिक्रिया थियो।