मह जोडीलाई सम्मान गर्दै नेपालगन्जमा ‘महापुरुष’को र्‍याली

नेपालगन्ज : आगामी कार्तिक ११ गतेबाट चलचित्र ‘महापुरुष’ देशभर प्रदर्शनमा आउँदैछ। निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई निकै तिव्रता दिएको छ।

मोफसल टुर, काठमाडौंमा देउसी भैलो, पत्रकार विशेष भेटघाट संगै प्रिमियर शो समेत गरिसकेको ‘महापुरुष’को मंगलबार नेपालगन्जमा पनि प्रचारप्रसार गरिएको छ।

पिके इभेन्टले आयोजना गरेको ‘फेस अफ नेपालगन्ज सिजन ३’का १४ जना प्रतिस्पर्धीहरुको सहभागीतामा नेपालगन्जको धम्बोझी चोक हुँदै क्युएफएक्स सिनेमाज बागेश्वरीसम्म र्‍याली गरिएको थियो।

क्युएफक्स पुगेर र्‍याली सकिएको थियो। क्युएफएक्समा ‘महापुरुष’को पोस्टर फ्रेम पनि राखिएको छ। फ्रेमसंग सबैले फोटो समेत खिचेका थिए।

आगामी कार्तिक १२ गते नेपालगन्जमा ग्रान्ड फिनाले हुने ‘फेस अफ नेपालगन्ज सिजन ३’का प्रतिस्पर्धीहरुको यतिबेला ट्रेनिङ चलिरहेको छ।

ट्रेनिङकै समयमा मह जोडीलाई सम्मान गर्दै ‘महापुरुष’का निम्ति र्‍यालीमा सहभागीहरुलाई पठाइएको ‘फेस अफ नेपालगन्ज सिजन ३’का आयोजक प्रकाश कुँवरले बताए।

र्‍यालीमा ‘महापुरुष’को पोस्टर प्रदर्शन गरिएको थियो। चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेल, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाका सदस्य ज्ञानु संगम खड्का, पिके इभेन्टका प्रबन्धक प्रकाश कुँवर, क्युएफएक्स बागेश्वरीका प्रवन्धक सन्जीव शाक्य लगायतको समेत र्‍यालीमा सहभागीता रहेको थियो।

‘महापुरुष’ले प्रिमियरमा एकदम राम्रो प्रतिक्रिया पाएको छ। प्रिमियर शो हेरेका सबैले चलचित्रले हसाउँदा हसाउँदै कतिबेला रुवाउँछ थाहै नहुने प्रतिक्रिया दिएका छन् ।

‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया

TOP