काठमाडौं : त्यसो त, दिज्जग कलाकार मह जोडी अभिनित चलचित्र ‘महापुरुष’ दर्शकका लागि बहुप्रतिक्षित चलचित्र बनेको छ। ट्रेलरबाटै दर्शकको मन जित्न सफल यस् चलचित्रलाई हेर्न दर्शक निकै आतुर छन् ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उक्त चलचित्र हेर्ने इच्छा जाहेर गरेका छन् । ओलीले शुक्रबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै चलचित्रका कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भनेर कामना गर्दै चलचित्र हेर्ने इच्छा भएको जनाएका छन् ।
उनले ‘महापुरुष’को पोस्टर अगाडि मदनकृष्ण श्रेष्ठले खिचाएको तस्वीर आफ्नो पर्सनल फेसबुक अकाउन्टमा सेयर गर्दै लेखेका छन् , ‘वाह कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होअोस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। फिल्म महापुरुषको भव्य सफलताको कामना गर्दछु।’
ओलीको यस्तो खालको अभिव्यक्तिबाटै थाहा हुन्छ कि ओलीले नेपाली चलचित्रलाई माया गर्छन् भनेर। जे होस् यसरी चलचित्रको बारे हरेक नेता बोलीदिने हो भने पक्कै पनि नेपाली चलचित्र क्षेत्रको विस्तार अझै उच्च हुन धेरै टेवा पुग्छ।
चलचित्र आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ। सोसल ड्रामा भनिएको ‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।