काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा भर्सटायल अभिनय क्षमता भएका अभिनेता हुन् विपिन कार्की। जस्तोसुकै भुमिका पनि जीवन्त निभाउन सक्ने खुबी छ विपिनसँग।
कम बोल्ने तर काममा बढी विश्वास गर्ने गुण भएका विपिन पछिल्लो समयका डिमान्डेड अनि व्यस्त अभिनेता हुन्। निर्माताहरुको पहिलो रोजाइमा पर्ने विपिनले राम्रो चलचित्र मात्र गर्ने गरेका छन् ।
अब छिट्टै विपिन अभिनित नयाँ चलचित्र प्रदर्शनमा आउँदै छ। चलचित्र हो ‘के घर के डेरा’। आगामी कात्तिक ४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस् चलचित्रको पब्लिसिटी तिव्र पारिएको छ।
चलचित्रकै पब्लिसिटीका लागि यस् चलचित्रका कलाकार विपिन कार्की र वर्षा राउत यतिबेला विभिन्न मिडियामा अन्तर्वार्ता दिन व्यस्त छन् । विभिन्न मिडियामा चलचित्र सम्बन्धि विभिन्न जानकारी एवम् अनुभव उनीहरू सेयर गरिरहेका छन् ।
यसैबीच, विपिनले अन्तर्वार्ताकै क्रममा आफुले कामलाई निकै पूजा गर्ने बताएका छन् । यसै चलचित्रकी नायिका वर्षा राउतसंग ‘हिट नेपाल’ मिडियामा अन्तर्वार्ता दिने क्रममा कामप्रति सदैव तल्लीन रहने कुरा विपिनले बताएका हुन् ।
तर कामलाई पूजा गर्ने आफुलाई बदनाम गरिएको भन्दै विपिनले दुख समेत व्यक्त गरेका छन् । चलचित्र ‘प्रसाद २’ को छायांकन स्थगित भएको समयमा आफुलाई नराम्रो बनाइएको विपिनको दुखेसो छ।
‘मलाई नसोधी मिडियाले गलत समाचार फैलायो’, उनले अन्तर्वार्तामा भनेका छन् , ‘म कामलाई पूजा आराधना गर्ने कलाकार हुँ। किनकी कामकै कारण आज म यो स्थानमा छु। कहिल्यै पनि कामलाई अपहेलना गर्दिन। तर पछिल्लोपटक मलाई बदनाम गरियो। प्रसाद २ चलचित्रको छायांकन स्थगित भएको बेला विपिन घमण्डी भएर सेट छोडेर हिड्यो भनेर अफवाह फैलाइयो। जुन सरासर झुट हो।’
साथै, विपिनले कहिल्यै पनि आफु नबदलिने बताएका छन् । बदलिएको खण्डमा काम गर्ने शैली पनि बदलिन सक्ने भन्दै आफू सदैव स्थिर स्वभावको रहेको बताएका छन् ।
पब्लिसिटीमा व्यस्त रहेका विपिन अभिनित ‘के घर के डेरा’ दर्शकले कस्तो रुचाउने हुन् त्यसको लागि रिलिज मिति कुर्नुपर्नेनै हुन्छ। तर चलचित्र दर्शकले रुचाउनेमा भने विपिन आशावादी छन् ।