काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा एउटा छुट्टै स्थान बनाएका अभिनेता हुन् दयाहाङ राई। आफ्नो अदभूत अभिनय क्षमताले दर्शकको मनमा बस्न सफल दया अभिनित अधिकांश चलचित्र हिट छन् ।
अभिनेता बन्नलाई चट्ट शरीर, गुड लुकिङ हुनुपर्छ भन्ने कुरालाई तोडेर अब्बल एवम् जीवन्त अभिनय क्षमताले अभिनेता बन्न सकिन्छ भन्ने कुराको उदाहरण बनेका दयाका चलचित्र महिनैपिच्छे रिलिज भइरहेका हुन्छन् । तर यो क्रम भने कोरोना कालपछि रोकिएको छ।
त्यही पनि यो वर्ष मात्रै हालसम्म दयाका दुई चलचित्र रिलिज भइसकेका छन्। ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ यो वर्ष रिलिज भएका दया अभिनित दुई चलचित्र हुन् । जस अन्तर्गत सुपर ‘कबड्डी ४’ डुपर हिट भयो भने ‘दुई नम्बरी’ हलमा चलिरहेको छ।
‘दुई नम्बरी’ले पनि यतिबेला हलमा राम्रो व्यापार गरिरहेको छ। यही चलचित्रको प्रचारप्रसारका लागि कलाकार टिम यतिबेला हलसम्म पुग्नेदेखि लिएर विभिन्न मिडियामा अन्तर्वार्ता दिने कार्यमा व्यस्त छ।
यसैबीच, ‘दुई नम्बरी’को प्रचार समेत होस् भनेर कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा दयाहाङ पुगेका थिए। जुन एपिसोड सोमबार प्रसारण भइसकेको छ।
दयासंगै ‘दुई नम्बरी’कि कलाकार उगेन चोदेन समेत कमेडी क्लब विथ च्याम्पियनमा पुगेकी थिइन् । सोही एपिसोडमा अन्तर्वार्ताको क्रममा दयाले पैसाकै लागि भएपनि धेरै चलचित्र गरेको बताएका छन् ।
‘पात स्क्रिप्ट भएपनि पैसाकै लागि भएपनि कुनै सिनेमा खेल्नुभएको छ ?’ भनेर कमेडी क्लब विथ च्याम्पियनका प्रस्तोता विशाल भण्डारीले प्रश्न गर्दा दया भन्छन् , ‘मैले गर्याछु, मलाई पैसा चाहिएको थियो त्यसैले इमानदारीताका साथ स्क्रिप्ट झुर भएपनि गरेको छु।’
साथै, स्क्रिप्ट अब्बल नभएका चलचित्रको भोलिको ग्यारेन्टी लिन चाहिँ नसकिने कुरा निर्माण टिमलाई जानकारी दिँदै काम गरेको पनि दयाले अन्तर्वार्ताको क्रममा बताएका छन् ।
सायद दयाको यही स्वभावले पनि होला उनी अभिनित चलचित्रको संख्या अधिक छ। कुनै सुपर डुपर हिट छन् भने कुनै फ्लप पनि छन् ।
फिल्मीपत्र
प्रतिक्रिया