
सुमित कार्की : सिनेमा हलमा राम्रो शो नपाएपपछि नेपाली फिल्म ‘चपली हाइट ३’को प्रदर्शन पटकपटक स्थगित भयाे। फिल्म ‘लप्पन छप्पन २’ले पनि सिनेमा हलमा खासै व्यापार गर्न सकेन। फिल्म ‘चिसो एस्ट्रे’ रिलिज भएको दुई दिनमा नै सिनेमा हलबाट उत्रियाे।
वैशाख १ गते नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र प्यान इन्डियन फिल्म ‘केजीएफ २’ बीच भिडन्त भयाे। ‘केजीएफ २’ ले मल्टिप्लेक्समा मध्यरातसम्म शो टाइम पाउदा ‘ए मेरो हजार ४’ ले तुलनात्मक रूपमा कम शो पायाे।
नेपाली चलचित्रकाे त्याे समयकालमा चलचित्र विकास बोर्डका अध्यक्ष थिए दयाराम दाहाल। नेपाली चलचित्रले दर्शककाे साथ नपाउँदा र फिल्म हलले प्राथमिकतामा नराखे पनि त्यस बखत कुनै पनि चलचित्रकर्मीले अध्यक्ष दाहाललाई सिनेमा हलमा राम्रो शो नदिएको भन्दै आरोप लगाएनन् न त त्यस विषयमा चुइक्क आवाज नै उठ्याे।
तर अहिले सिनेमा हलमा नेपाली फिल्मले राम्रो शो पाएन भन्दै चलचित्रकर्मी चलचित्र विकास बाेर्डविरुद्ध खनिन थालेका छन्, विशेषगरी बाेर्डका अध्यक्ष भुवन केसीमाथि। यतिसम्म कि सम्बन्धित फिल्मका निर्माण पक्षले बोर्ड अध्यक्ष केसीको राजीनामा माग गर्न थालेका छन्।
नेपाली फिल्म ‘प्रकाश’ र ‘प्रेम गीत ३’ को रिलिजको क्रममा अभिनेता प्रदीप खड्काले विकास बोर्डमाथि विभिन्न आरोप लगाएर अध्यक्ष केसीको राजीनामा माग गरेका थिए । त्यस्तै फिल्म ‘बाबरी’ को निर्माण पक्षले पनि प्रदर्शनमा अन्याय भएको भन्दै अध्यक्ष केसीको राजीनामा मागेका छन्।
केसीको चरित्र र शैक्षिक योग्यतामाथि प्रश्न उठाएर राजीनामाको माग गरिएकाे भए असहमति जनाउनुपर्ने कारण हुँदैनथ्यो होला । तर फिल्मले सिनेमा हलमा राम्रो शो टाइम नपाएको वा दर्शक फिल्म हेर्न नआएको भन्दै केसीको राजीनामा माग्नु कत्तिको जायज हो!
सिनेमा हलमा कुन फिल्मले कति शो टाइम पाउछ भन्ने कुरा दर्शकमा भर पर्छ। दर्शकको माग बढ्दै गएमा फिल्मको शो टाइम पनि बढ्दै जान्छ। दर्शक हलसम्म नै नआए उक्त फिल्म छोटो समयमा नै सिनेमा हलबाट उत्रन्छ। हल सञ्चालकले व्यापारलाई ध्यानमा राखेर फिल्मलाई शो टाइम दिने गर्छन्। यसमा फिल्म वितरकको पनि महत्वपूर्ण भूमिका हुन्छ। तर अहिले फिल्मले सिनेमा हलमा शो नपाउदा अध्य्क्ष केसीको राजीनामा माग गर्ने ट्रेन्ड नै चलिरहेको छ।
राजीनामाकाे विषयमा केसीले औपचारिक रूपमा केही नबताए पनि बाेर्डले कसैलाई पनि भेदभाव नगर्ने उनले बताएका छन्।
‘विकास बाेर्ड सधै अन्यायकाे विरूद्धमा छ त्यसैले बाेर्ड वा अध्यक्षले मलाई र मेराे फिल्मलाई हेरेन भन्नु गलत हाे’ अध्यक्ष केसीले भने, ‘सिनेमा हलले मेरो फिल्मलाई राम्रो शो दिएन, विकास बोर्डले मेरो फिल्म हेरेन जस्ता गुनासा आउने गरेका छन्। यहाँ विकास बोर्डले फिल्मको शो टाइम दिने गरेको भन्ने भ्रम छ। तर फिल्मको शो टाइम वितरकले तय गर्ने हो, किनभने निर्माताले फिल्म बनाएपछि वितरकलाई बेच्छ र त्यो फिल्मलाई सिनेमा हलमा प्रदर्शन गर्ने काम वितरकको हो। निर्माताले वितरकलाई आफ्नो फिल्म कति वटा सिनेमामा रिलिज भयो र कति वटा शो पायो भनेर प्रश्न गर्ने हो र आफूमाथि अन्याय भएको महसुस भए विकास बोर्ड आउने हो।’
तर हालसम्म वितरकले आफू र आफ्नाे फिल्मलाई अन्याय गरेकाे भन्दै बाेर्डसम्म काेही नआएकाे केसी दाबी गर्छन्। आफू सधैं नेपाली चलचित्रकाे पक्षमा रहेकाे र नेपाली चलचित्र उद्याेगलाई स्थापित गर्न निरन्तर प्रयास गरिरहने उनले बताएका छन्।
‘म पनि नेपाली फिल्मले ७५ प्रतिशत शो प्राप्त गरोस् भन्ने चाहन्छु। तर यसका लागि सबै एकजुट हुन जरुरी छ’ अध्यक्ष केसीले भनेका छन्, ‘यहाँ कुनै नीति र नियम छैन। म त्यही नीति नियम बनाउन विकास बोर्डमा आएको हुँ।’
शुक्रबारबाट सिनेमा हलमा रिलिज भएको ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बोर्ड मूकदर्शक बनेको उनीहरुकाे आरोप थियाे।
नेपालमा अहिले फिल्मले राम्रो शो टाइम नपाउदा वा फिल्म हिट नहुँदा विवादमा ल्याउने चलन चलिरहेकाे छ।
फिल्म ‘बाबरी’को टिम प्रचारप्रसारको लागि इटहरी आउँदा फिल्मका मुख्य अभिनेता धीरज मगरले कुन फिल्मले कति शो पाउने र कुन फिल्मले कति व्यापार गर्ने भन्ने कुरा दर्शकमा भर पर्ने बताएका थिए। दर्शकलाई फिल्म हलसम्म ल्याउन ‘बाबरी’ले पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा कुनै शीर्षकमा विवाद सिर्जना गर्ला भन्ने एएमजीकाे प्रश्नमा कलाकार मगरले त्यो कुरा समय आएपछि मात्र थाहा हुने बताएका थिए।
नभन्दै, अहिलेको ‘ट्रेन्ड’ लाई पछ्याउँदै फिल्म ‘बाबरी’ पनि लाइमलाइटमा आउने प्रयास गरिरहेको छ।
