काठमाडौं : करिब दुईदिन जति भयो सामाजिक संजाल टिकटकमा एउटा गीत लोकप्रिय बन्दै गईरहेको छ। अझ अहिलेको भाषा प्रयोग गर्ने हो भने ‘भाइरल’ हुँदै गईरहेको छ। उक्त गीत हो ‘भेट्न आएँ दौडेर स्याइ स्याइ’।
हुन त यो गीत तीजलाई लक्षितगरि बजारमा ल्याइएको गीत हो। तीजको समयमा यो गीत जति रुचाइनु पर्थ्यो त्यति उचाइएन । तर अहिले भने गीतलाई रुचाउने दर्शक स्रोताको संख्या निकै बढ्दो छ।
यो गीतलाई सर्जक कृष्ण बस्यालले बजारमा ल्याएका हुन् । संख्यात्मक भन्दा पनि गुणात्मक गीत सृजना गर्न रुचाउने कृष्ण पछिल्लो समय नेपाली लोकगीत संगीतका सम्भावना बोकेका सर्जक हुन् । अब्बल गीत सृजना गर्नसक्ने युवा सर्जक भनेर पनि उनलाई चिन्ने गरिन्छ।
‘बनकी चरी’, ‘सिमलैमा मैना’, ‘पोखरा’ लगायतका दर्जनौं लोकप्रिय गीतहरु सृजना गरिसकेका सर्जक बस्यालले सृजना गरेको पछिल्लो गीत हो ‘भेट्न आएँ दौडेर स्याइ स्याइ’। जुन गीतले यतिबेला चर्चा बटुल्ने क्रम बढ्दो छ।
गीतमा लोकप्रिय गायिका सम्झना भण्डारी र गायक अर्जुन सापकोटाको सुमधुर आवाज रहेको छ। कृष्ण आफैँले गीतमा अब्बल शब्द लेखेका छन् । प्रेम सम्बन्धमा आधारित गीतको मेलोडी डान्सिङ प्याटर्नमा आधारित रहेको छ। गीतको मेलोडी अर्जुन सापकोटाले तयार पारेका हुन् ।
तीज नयाँ गीत मार्फत निरन्तरता दिने उद्देश्यले कृष्णले ‘भेट्न आएँ दौडेर स्याइ स्याइ’ बजारमा ल्याएका थिए। प्रायः अरुकै लगानीका गीत सृजना गर्ने कृष्णले भने यसपटक आफ्नै लगानीमा यो गीत बजारमा ल्याएका थिए। त्यसैले पनि कृष्णले यो गीतबाट धेरै आश गरेका थिए। हजारौं तीज गीतको बीचमा यो गीत कता हरायो-हरायो ।
आफैले अलि बढी आशा गरेको गीत नचलेपछि तीज अवधिभर कृष्णलाई बडो पिर लाग्यो। जब तीज सकियो तब कृष्णको आश फेरि पलाउन थाल्यो। किनभने तीज सकिएलगत्तै यो गीतले एकदम राम्रो उचाइ लिँदै गईरहेको छ।
शून्य सब्क्राइब भएको आफ्नै ‘कृष्ण बस्याल’ नामक युट्युब च्यानलबाट रिलिज गरेका थिए यो गीत कृष्णले। सुन्दा सदाबहार लोक दोहोरी गीत जस्तो लाग्ने उक्त गीतले तीज अवधीभर करिब १ लाख ७० हजार जति भ्युज युट्युबमा पाएको थियो।
तर अहिले भने दिनको २० हजारको दरले भ्युज बढिरहेको छ। दर्शक स्रोताबाट युट्युबमा हजारौं सकारात्मक प्रतिक्रिया पनि पाएको छ गीतले।टिकटकमा लोकप्रिय बन्दै गएको समयको कुरा गर्ने हो भने जम्मा दुई दिनजति भयो। यही दुई दिनको अवधिमा यो गीतको साउन्डमा टिकटक बनाउने प्रयोगकर्ताको संख्या करिब ४५ हजार बढी पुगेको छ।
टिकटक अनि युट्युब दुबैतिर गीत रुचाईँदा यतिबेला सर्जक बस्याल निकै खुशी छन् । उनी भन्छन् , ‘गीत नचलेर निराश भइरहेको समयमा अहिले एकाएक ‘भेट्न आएँ दौडेर स्याइ स्याउ’ गीत लोकप्रिय बन्दै गएपछि औधी खुशी लागेको छ। टिकटक लगायत युट्युबमा गीतलाई माया गर्ने दर्शक स्रोताको संख्या बढ्दा झन हौसला मिलेको छ।’
अनपेक्षित रुपमा गीतलाई रुचाइँदा खुशी हुनुको साथै थप जिम्मेवारी बढेको सर्जक बस्यालले फिल्मीपत्रको कुराकानीमा बताए। गीत कतिबेला चल्छ भन्ने कुराको कुनै टुंगो नरहेको पनि उनले जनाए।
गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको भएर पनि गीत रुचाइएको उनको धारणा छ। भिडियोमा गायक स्वयं अर्जुन सापकोटा फिचर्ड छन् । अर्जुनको अलवा मोडल अलिशा बास्तोलालाई पनि देख्न सकिन्छ।
भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । आकर्षक फ्रेममा सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन एवम् कलर ग्रेडिङ गरेका छन् । गीतको भिडियो..