काठमाडौं : आजबाट हलमा दुई नेपाली चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिंगेदाउ’ आज शुक्रबारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भइरहेका छन् ।
‘सम्हालिन्छ कहिले मन’ निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र हो। नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा र नव नायक सोनम तोप्देनको प्रमुख भुमिका रहेको छ। सोनमले यही चलचित्रबाट डेव्यु गर्दैछन् । पूजा, सोनम र आकाशसँगै सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रका लेखक महेश दवाडी हुन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई अमित बस्नेत, परी राना र अजितकुमार थापाले निर्माण गरेका हुन् ।
त्यस्तै, सौरभ लामाले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। नेपाल र बेलायतका विभिन्न स्थानमा चलचित्र खिचिएको छ।
यता, ज्ञानेन्द्र देउजाले निर्देशक गरेको चलचित्र ‘झिंगेदाउ’मा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, मुकुन भूषाल, हिउँवाला गौतम, विजय देउजा, कुशल विष्ट लगायतको अभिनय रहेको छ।
यो चलचित्र भिमनिधी तिवारीको कथा कृतिमा आधारित रहेको छ। चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र पारिवारिक कथामा आधारित रहेको बताइएको छ।
जे होस्, यि दुई चलचित्रले प्रीमियरमा राम्रो प्रतिक्रिया पाएका थिए। अब दर्शकबाट कस्तो प्रतिक्रिया अनि साथ पाउँछन् त्यो त बाँकी नै छ।
यसरी दुई नेपाली चलचित्र एकसाथ भिड्नु चलचित्र उद्योगको लागि राम्रो होइन। तरपनि विडम्बना भिड्दै आइरहेका छन् ।