काठमाडौं : तीज भन्ने बित्तिकै महिलाहरुको महान चाडको रुपमा लिने गरिन्छ। अझ भनौ नारीहरुले आफ्नो बेदनाहरु पोख्ने चाड भनेर पनि तीजलाई लिइन्छ। विशेषगरि तीजमा गीत मार्फत नारीहरुले सुखदुःख पोख्ने गर्छन् ।
त्यसैक्रममा, महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धेरै गीतहरु बजारमा आउने गर्छन् । पहिले पहिलेका गीतहरु मौलिक हुन्थे, नारीहरुका बेदना समेटिएका हुन्थे गीतहरुमा। सुन्दा पनि शरीरमा काँडा उम्रीएझै महसुस हुन्थ्यो।
तर अहिले भने तीज गीतका स्वरुप बदलिएको छ। डिजिटल युग भन्दै तीज गीतमा मौलिकपन मास्ने क्रम एकदमै बढ्दो छ। यसो हिसाब गर्ने हो भने तीजमा मात्रै हजारौं गीतहरू बजारमा आउँछन् । र यो वर्ष पनि लगभग पुगनपुग हजार तीज गीतहरु बजारमा सार्वजनिक भए ।
यो वर्ष बजारमा आएका तीज गीतहरु मध्ये केही गीत मात्र यथार्थ तीज गीत छन् ।भने, प्राय गीत रत्यौली भाकामा आएका छन् । कति त रत्यौलिकै शब्दमा पनि आएका छन् । युट्युबमा सर्च गरेर हेर्ने हो भने सार्वजनिक भएका प्रायः गीतहरूमा रत्यौली भाका सुन्न सकिन्छ।
पछिल्लो समय दोहोरिमा भित्रीएको बिकृतिले जतासुकै असर पारेको प्रस्ट देख्न सकिन्छ। केही बर्ष अगाडि सम्म बिहे गरेर पराइ घरमा गएकी चेलीले भोगेका पिडालाइ समेटेर तीज गीत बन्ने गर्थे । माइती घरमा सुखमा हुर्किएकी चेली पराइ घर गएपछि त्यहाँ सासु , ससुरा, श्रीमान् , देवर जेठाजु देउरानी जेठानीले गरेको व्यवहारलाई गीतको माध्यमबाट प्रस्तुत गरिन्थ्यो ।
पहिले पहिले हरितालिका तीज महिलाहरुको पर्व भएको हुनाले पुरुषले तीज गीत गाउनु हुँदैन भन्ने मानसिकता पनि थियो। तर पनि शालिन तरिकाले पुरुषहरुले पनि तीज गीत गाइरहेका थिए ।
पछिल्लो समय तीजको भाव समेटिएका गीत बजारमा बिरलै आएका छन् । अझै भनौं तीज गीतमा मौलिकपन हरायो भन्दा पनि फरक नपर्ला। अग्रज देखि अनुज सम्मका कलाकारले पछिल्लो समय तीजको भावनालाई नबुझेर आफ्नो कला संस्कृति जोगाउनुको साटो तीजको समयमा रत्यौली तरिकाको गीत बजारमा पस्किरहेका छन् । जसले गर्दा भोलिका दिनमा नयाँ पुस्ताले आफ्नो संस्कार संस्कृति इतिहासमा मात्र पढ्न पाउने हुन् कि भन्ने चिन्ता यदाकदा नबढेको भने होइन।
तीज गीतलाई मौलिकतामा जोगाइराख्न नेपाल सरकारको तर्फबाट पहल हुन निकै जरुरी देखिन्छ। गीत संगितमा नियमन गर्ने निकाय नहुँदा पनि हाम्रो कला संस्कृति माथि प्रहार भईरहेको छ । राष्ट्रिय लोक दोहोरि गीत प्रतिष्ठान नेपालसंग प्रयाप्त अधिकार नहुँदा प्रतिष्ठानले पनि अनुरोध बाहेक केही गर्न नसक्ने बताउँदै आएको छ ।
त्यसैले हामी कलाकारहरु नै तीज गीतलाई साँच्चिकै वास्तविक तीज गीत बनाउँदै कालान्तरसम्म संरक्षण गर्दै अग्रसर हुन जरुरी छ। एउटा कलाकारले तीज गीतमाथि विकृति ल्यायो भन्दैमा अरु कलाकार पनि त्यस्तै गीत निर्माण गर्ने परिपाटी अन्त्य हुन सक्यो भने तीज गीतको मर्म सधै जोगिने छ।