
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन् सुनिल सिंह ठकुरी। विगत लामो समयदेखि संगीत कर्म मै क्रियाशिल ठकुरी संख्यात्मक भन्दा पनि गुणात्मक गीत गाउन रुचाउने गायक अन्तर्गत पर्ने गर्छन् ।
हालसम्म सयौं गीत गाइसकेका उनका अधिकांस गीत दर्शक स्रोतामाझ लोकप्रिय छन् । उनका गीतहरू मध्य ‘घटना घट्यो” बोलको गीत लोकप्रिय गीतमा पर्ने गर्छ। करिब ७ वर्ष अधि रिलिज उक्त गीत अझैं पनि दर्शक स्रोतामाझ कालजयी छ।
त्यसो त, उनका अन्य थुप्रै गीत दर्शक स्रोताको रोजामा छन् । यसैक्रममा सुनिलले नयाँ गीत बजारमा ल्याउने तयारी थालेका छन् । गीतको बोल भने ‘जनता जान्न चाहान्छन्’ रहेको छ।
आगामी शुक्रबारबाट रिलिज हुन लागेको गीतमा सुनिलको दमदार आवाज रहेको छ। सुनिलका अलवा गीतमा लोकप्रिय गायिका एलिना चौहानको आवाज सुन्न सकिन्छ। सर्जक भिम विसीको शब्द अनि संगीत रहेको गीत रिलिज अगाडि नै चर्चामा छ।
गीतको अडियो फाइनल भएपछि भिडियो छायांकन गर्नेक्रमबाटै गीतको चर्चा चुलिन थालिएको हो। किनभने भिडियोमा कलाकार एलिजा गौतम फिचर्ड छिन् । एलिजासंगै भिडियोमा आकाश सोनि र गायक ठकुरी स्वयंले पनि अभिनय गरेका छन् ।
भिडियोलाई शेर साउदले निर्देशन गरेका छन् । अनिल के मानन्धरले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
लोकप्रिय पत्रकार ऋषि धमलालाई पनि भिडियोमा देख्न पाइने भएको छ। बुधबार सुनिलले एक पोस्टर सार्वजनिक गर्दै आगामी शुक्रबार रिलिज गरिन औपचारिक जानकारी दिएका हुन् । पोस्टरमा ऋषि धमलालाई पनि देख्न सकिन्छ।
गीतको शीर्षक नै ‘जनता जान्न चाहन्छन’ भएकोले पनि ऋषि धमला हुन सक्ने आँकलन दर्शल स्रोताको थियो। छायांकनकै बेलादेखि गीतलाई लिएर दर्शक स्रोता निकै उत्साहित थिए।
गीतलाई लिएर आफू पनि निकै उत्साहित रहेको सुनिल बताउँछन् । फिल्मीपत्रको कुराकानीमा गीतमा करिब ५ लाख लगानी लागेको सुनिलले बताए। उनले कुराकानीको क्रममा भने, ‘मैले अलि आश गरेको गीत हो यो। त्यसैले पनि मैले अडियो भिडियो दुबैमा कुनै पनि कमि गरेको छैन। त्यसैले पनि सबै खर्च ५ लाखको हाराहारीमा छ। अलि समयको अन्तरालमा दर्शक स्रोतामाझ फरक स्वाद दिउँ कि भनेर यो गीत बजारमा ल्याउँदैछु। आशा छ पहिलेका गीत झै दर्शक स्रोताले यो गीतलाई पनि रुचाउनुहुनेछ’।
रिलिज अगाडि नै एकखालको चर्चा बटुलेको गीतले दर्शक स्रोताको कत्तिको साथ पाउँछ त्यो त रिलिज पछि नै थाहा होला।