काठमाडौं : विश्व लगायत नेपाललाई पनि आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडा ताजै छ। कोरोनाले दिएको प्रसव पीडा अझै निको भएको छैन नेपालीको। कोरोनाकालमा समाजबाट बहिस्कार हुनुपरेको, गरिबीले पिरोलिनुपरेको एवम् कोरोनाको कारण आफन्त गुमाउनुपरेको घाउ अझैं आलै छ ।
सायद यि सब घटनाहरु सम्झिन चाहान्नौँ हामी नेपालीहरूले। तर त्यही कोरोनाकालको कारुणिक अवस्थालाई बिउँझाउने गरि नेपाली सिनेमा हलहरुमा एउटा चलचित्र लागिरहेको छ।उक्त चलचित्र हो शुक्रबारबाट चलचित्र ‘चिसो मान्छे’। पोष्टर आउट भएसंगै एकखालको चर्चा बटुलेको चलचित्रको टिजर अनि गीत रिलिज हुँदा झनै चर्चा बढ्यो।
कस्तो होला त चलचित्र भन्ने कौतुहलता सबै दर्शकहरुमा थियो। अन्ततः त्यो कौतुहकता मेटिसकेको छ। करिब २ घण्टा लम्बाइको छ चलचित्र । चलचित्रका लेखक एवम् निर्देशक हुन दिपेन्द्र के खनाल ।
चलचित्रका मुख्य कलाकारहरु अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता अर्पण थापा र देशभक्त खनाल हुन् ।
रोजगारीको सिलसिलामा परदेसिएका (डम्बर बहादुर देवकोटा)को कतारमा हृदयघातका कारण मृत्यु हुन्छ। डम्बरको शव लिनलाई बाजुराबाट डम्बरको श्रीमती पुष्पा (स्वस्तिमा खड्का) र बुवा (देशभक्त खनाल) काठमाडौं जान्छन् ।
कोरोनाकाल अन्तर्गत लकडाउनको समयमा डम्बरको शव काठमाडौंबाट बाजुरासम्म लैजाँदै गर्दा के के समस्या झेल्नुपर्यो, कस्तो कस्तो अफ्ट्यारो उत्पन्न भयो, कोरोनाकालमा समाजको कस्तो व्यवहार सहनुपर्यो लगायतको कथामा चलचित्र आधारित छ।
झट्ट चलचित्रको कथा सुन्दा सामान्य लागेपनि हेर्दा चाहिँ भावुक भइन्छ। चलचित्रको सरल कथाले गहन कुरा व्यक्त गरेको छ। त्यसो त, पात्र परिचालन अब्बल भएर होला चलचित्र वास्तविक झैँ लाग्छ। हुन त, हामीले हालसालै भोगेको कथा भएको भएर पनि होला चलचित्रमा धेरैले आफुलाई प्रतिनिधित्व गरेको आभाष हुन्छ । यस् पक्षमा चाहिँ निर्देशक सफल छन् ।
जुन सोचका साथ चलचित्रको कथा लेखेका छन् दिपेन्द्र के खनालले, त्यही सोचले निर्देशन गरेका छन् । अनि चलचित्रलाई खिचेका छन् पनि। हुन त यी तिनै कार्य एकैजनाले गर्न सक्नु पक्कै सहज त हुँदैन । तरपनि आफ्नो खुबी चाहिँ झल्काएका छन् चलचित्रमा दिपेन्द्रले।
‘चिसो मान्छे’ एउटा ट्राभल स्टोरी भएकोले पनि निर्देशकले संवाद कमै राखेका छन् । धेरै संवादले मात्रै नभएर थोरै संवादले पनि कथालाई दृश्यांकन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् निर्देशक। जुन कुरा निकै सराहनीय छ। लाउड क्यारेक्टर, लाउड संवाद अनि लाउड कथाले मात्रै चलचित्रलाई पुर्णता दिने परिपाटीमा दिपेन्द्र के खनाल अपवाद बनेक छन् ।
चलचित्रमा राखिएका थोरै पात्र (मुख्यतया ३ कलाकार )लाई निकै उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ। पात्रकै कुरा गर्नुपर्दा पुष्पाको भुमिका निर्वाह गरेकी स्वस्तिमाको अभिनय अब्बल लाग्छ। उनले आफ्ना अघिल्ला चलचित्र भन्दा भिन्नै चरित्र निर्वाह गरेको छिन् यस् चलचित्रमा।
बिकट जिल्ला बाजुराको एक ग्रामीण बस्तिकी महिलाको भुमिकालाई स्वस्तिमाले जीवन्त आफ्नो अभिनयमा उतारेको छिन् । साँच्चिकै बाजुराली महिला झैँ लाग्छ स्वस्तिमा। त्यस्तै, देशभक्त खनालको चरित्र पनि उत्तिकै अब्बल छ। उनको साथै अर्पण थापा, जसले ड्राइभरको भुमिका निर्वाह गरेका छन् उनको चरित्र पनि झनै अब्बल छ।
नुवाकोटका अशोक (अर्पण थापा)ले कोरोनाकालमा आफ्नी श्रीमती गुमाउछन। ६ महिनाको छोरीलाई काठमाडौंमा बस्ने बहिनी जुवांई कहाँ राखेर पिकअप गाडी चलाउन सुरु गर्छन् । जुन गाडी कुखुरा फार्म संचालन गर्दा अर्पणले किनेका थिए। सबै कुरा बिथोलिएपछि बैंकको ऋण तिर्ण बचेको गाडीलाई प्रयोग गर्दै सडकमा उत्रिन्छन उनी।
त्यही समयमा एउटा काम पाउँछन् अर्पणले। जुन काम हो कतारमा मृत्यु भएका डम्बर बहादुरको शव बोकेर बाजुरा लैजाने। काठमाडौंबाट बाजुरा शव लैजाँदा लकडाउनको समयका गाडी चालकले भोग्ने समस्या त एकातिर छ, स्वास्नी गुमाएको पिडालाई छिचोल्दै पनि आफ्नो कर्तव्य निभाउन पछि नपर्ने अर्पणको भुमिका निकै उत्कृष्ट छ।
देशभक्त खनालको चरित्रलाई पनि उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन् निर्देशकले। आफ्ना दुई छोरा मध्ये दुबै छोरालाई गुमाउनु पर्दाको पीडालाई देशभक्त खनालको कारुणिक तरिकाले अभिनयमा उतारेका छन् ।
चलचित्रले एउटा शव अर्थात् चिसो मान्छेको कथा बोलिरहँदा त्यसभित्र पनि अर्को कथा बोलेको छ। एउटा गायिका बन्ने रहर बोकेकी बाजुराली चेली पुष्पाले सानैमा विबाह हुँदा आफ्नो इच्छा चाहाना पूरा गर्न नसकेर अनेकन समस्या अनि चाहना मन भित्रै गुम्साउन बाध्य भएको कथा पनि चलचित्रमा झल्किन्छ।
उसो त, कोरोनाकालको तितो समयमा समाज अनि मानिसहरुको व्यवहार चिसो बन्दै गएको अर्को कथा पनि झल्किन्छ चलचित्रमा। शिर्षक ‘चिसो मान्छे’ भएकोले चिसो मान्छेकै कथा चलचित्रले बोलेको हुनुपर्छ भन्ने भान चलचित्र हेरेपछि मेटिनेगर्छ। यस् अर्थमा पनि चलचित्र अब्बल छ।
कोरोनालाई लिएर गाउँगाउँमा गरिएको तुच्छ राजनीति, तुच्छ व्यवहारलाई पनि चलचित्रमा देखाइएको छ। जुन कोरोनाकालमा चलचित्रको शिर्षक झै समाज पनि चिसो बनेको थियो। ट्राभल स्टोरीमा आधारित भएर होला चलचित्रमा काठमाडौं देखि बाजुरासम्म पुग्दा देखिने विभिन्न आकर्षक लोकेशनलाई पनि देखाइएको छ।
त्यसैले समग्रमा भन्नुपर्दा एउटा सरल कथामा पनि अब्बल अर्गामिक चलचित्र बन्न सक्ने रहेछ भन्ने उदाहरण हो ‘चिसो मान्छे’ भन्दा फरक नपर्ला। धैर्य गरेर परिवारका साथमा २ घण्टा बसेर हेर्नसके अर्गानिक चलचित्रको स्वाद भेट्न सकिन्छ।