नेपालगन्ज : यस् वर्षको प्रतिक्षित चलचित्रको लिस्टमा रहेको ‘चिसो मान्छे’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। पोस्टर र टिजरबाटै निकै चर्चा पाएको चलचित्रलाई लिएर दर्शक एवम् अन्य चलचित्रकर्मीहरु निकै उत्साहित थिए।
त्यसै अनुरुप चलचित्रलाई देशभरका हलहरुमा राम्रो शो दिइएको छ। नेपालगन्जमा भने चलचित्रले २ शो पाएको छ। मध्यान्ह १२:३० र साँझ ६:३० को शो गरि २ शो चलचित्रलाई दिइएको क्युएफएक्स सिनेमाज बागेश्वरी नेपालगन्जका प्रबन्धक सन्जिव शाक्यले जनाए।
अहिले २ शो दिइएको र दर्शकको चाप बढेको खण्डमा शोहरु थपिँदै जाने पनि प्रबन्धक शाक्यले बताए।
अभिनेत्री स्वस्तिमा खड्का स्टारर उक्त चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । स्वस्तिमाका अलवा अभिनेता अर्पण थापा र देशभक्त खनाल पनि मुख्य कलाकारको रुपमा रहेका छन् ।
समाजको कथा बोल्ने चलचित्रलाई सर्मिला वाइवाले निर्माण गरेकी हुन् । चलचित्रमा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ।
दीर्घ खड्काले सम्पादन गरेको चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायत कलाकारको पनि अभिनय रहेको छ।
चलचित्र एउटा ट्राभल स्टोरी हो। जहाँ वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट बाजुरासम्म पुर्याउँदाकाे कथा समेटिएको छ।