विश्व फिल्म बजार कोभिड १९ को महामारीले प्रभावित भएको छ । अर्बौंको लगानीमा बनेका फिल्म सिनेमा हल बन्द हुँदा थन्किएर बसेका छन् । एकाध देशमा बाहेक फिल्म निर्माण पनि रोकिएको अवस्था छ ।
विश्वमा गणनामै नआउने नेपाली फिल्म क्षेत्रलाई पनि यो महामारीले थिलथिलो बनाएको छ । लकडाउन भएको चार महिनायता यहाँ कुनै प्रकारका गतिविधि भएका छैनन् । भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आउँदा पनि फिल्म क्षेत्रलाई पुनः सुचारु गर्ने बारेमा सरकारले अहिलेसम्म कुनै निर्देशिका बनाएको छैन ।
हल सञ्चालक, निर्देशक, निर्माता, कलाकार, प्राविधिकलगायतले अब फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्नेपर्ने आवाज उठाउँदै आएका छन् । तर, उनीहरुको यो आवाज सिंहदरवारसम्म पुग्न सकेको छैन । सरकारले फिल्म क्षेत्र पुनः सञ्चालनको अनुमति दिएको अवस्थामा फिल्म निर्माणको गति कसरी बढाउने र प्रदर्शनको वातावरण कसरी मिलाउने भन्ने बारेमा गम्भीर बहस आवश्यक देखिन्छ ।
महामारीपछि फिल्म निर्माणको गति बढाउन विशेषगरि कलाकारहरुले पारिश्रमिक घटाउनुपर्ने फिल्म निर्माताहरुको भनाई छ । केही कलाकार यो विषयमा सहमत पनि देखिएका छन् ।
अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले महामारीपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पारिश्रमिक घटाएर काम गर्न तयार रहेको उनीहरुको भनाई छ । यसबीच, अभिनेता दयाहाङ राईले पनि फिल्म क्षेत्रलाई उठाउन कलाकारले पारिश्रमिक घटाउनु पर्ने कुरामा आफू सहमत रहेको बताएका छन् ।
लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोको छायांकनमा व्यस्त रहेका उनले भने- ‘म पारिश्रमिक घटाएर फिल्ममा काम गर्न तयार छु । तर, निर्माताको उद्धेश्य स्पष्ट हुनुपर्छ । पारिश्रमिक घटाउँदैमा मात्र सबै समाधान हुँदैन । निर्माताले केका लागि फिल्म बनाउँदैछ त्यो महत्वपूर्ण कुरा हो । यदी फिल्मले यो क्षेत्रलाई नै फाइदा हुनेछ भने म पारिश्रमिक घटाएर काम गर्न तयार छु ।’ कोरोनाको महामारीपछि फिल्म क्षेत्रलाई गतिशील बनाउन सरकारी पक्षबाट पनि समन्वय हुनुपर्ने उनको भनाई छ ।
लकडाउन हुनुभन्दा अगाडि आधा दर्जन बढी फिल्म साइन गरेर बसेका उनी सरकारले छायांकन अनुमति दिएसँगै फिल्म ‘के घर के डेरा’ को छायांकनमा व्यस्त हुनेछन् । यसपछि दयाहाङले निर्देशक द्वय निश्चल बस्नेत र रामबाबु गुरुङको नयाँ फिल्ममा काम गर्नेछन् ।