नेपालगन्ज : मेगा स्टार अनमोल केसी र नायिका सुहाना थापा स्टारर चलचित्र “ए मेरो हजुर ४” आज बिहिवारबाट देशभर प्रदर्शनमा आएको छ।
दक्षिण भारतीय चलचित्र “केजिएफ-२”संग भिड्दै प्रदर्सनमा आएको “ए मेरो हजुर ४”ले काठमाडौं लगायत देशभरका हलहरुमा उच्च शो पाएको छ।
“केजिएफ”का कारण “ए मेरो हजुर ४”लाई दर्शकको संख्या घट्छ कि भन्ने आशंका गरिएको थियो। तर अहिले यसको ठिक उल्टो भएको छ। “ए मेरो हजुर ४” काठमाडौं लगायत देशभर हाउसफुल भएको छ।
पहिलो दिनमै नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजमा समेत विहानी शो लगायत दिनभर हाउसफुल भएको छ। नयाँ वर्षको दिनको अवसरमा नेपाली दर्शकहरु यस् चलचित्र हेर्न आउने दर्शकको संख्या ह्वात्तै बढेको देख्दा नेपाली चलचित्र प्रति नेपाली दर्शकको माया अथाह रहेको अनुमान लगाउन सकिन्छ।
झरना थापा निर्देशित “ए मेरो हजुर ४”चलचित्रका निर्माता सुनिल कुमार थापा हुन् । स्वर्गीय छेतेन गुरुङ र झरना थापाको कथा चलचित्रमा रहेको छ। अनमोल र सुहानालाई चलचित्रमा मुख्य भुमिकामा देख्न सकिनेछ।
सुहाना इन्टरटेन्मेन्टको व्यानरमा बनेको चलचित्रमा
झरना थापा र स्वर्गीय छेतन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन छ ।
त्यस्तै कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
डेढ वर्षअगाडि तीजको अवसरमा प्रदर्शन गर्ने भनिएको फिल्म कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन।