काठमाडौं : पछिल्लो समय विभिन्न संघ संस्थाहरुले टिकटक सम्बन्धि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रचारप्रसारको उत्तम माध्यम मानिएको टिकटकलाई सदुपयोग गर्ने क्रम पनि निकै बढ्दो छ।
यसैबीच, टिकटकको माध्यमबाट ´क्यूएफएक्स सिनेमाज`ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।
यस प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगीले बुटवल, भक्तपुर, विराटनगर र छायाँका क्यूएफएक्स सिनेमाजमा गएर ‘क्यूएफएक्स टिकटक प्रतियोगिता’ को पृष्ठभूमिमा भिडियो बनाउनु पर्नेछ ।
‘क्यूएफएक्स सिनेमाज’को विशिष्ट क्षेत्रलाई प्रवर्द्धन गर्दै प्रतियोगीले क्यूएफएक्सको लबी र क्याफे लगायत क्षेत्रमा पनि टिकटक बनाउन सक्नेछन् ।
आयोजकका अनुसार भिडियो १ मिनेट भन्दा कमको हुनु पर्नेछ। भिडियो बनाइसकेपछि प्रतियोगीले उक्त भिडियोलाई आफ्नो टिकटक, इन्स्टाग्राम र फेसबुक स्टोरीमा पोष्ट गर्नु पर्नेछ।
अप्रिल २२ सम्म promomandu@gmail.com मा आफ्नो भिडियो पेश गर्नुपर्ने बताइएको छ। पेश गरिएको भिडियो मध्य सबै भन्दा बढी लाइक र कमेन्ट प्राप्त गर्ने भिडियोलाई उत्कृष्ट मानिने र विजेता घोषणा गरिने बताइएको छ।