काठमाडौं : नायक तथा मोडल पल शाहलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। एक नाबालिक माथि जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नायक शाहलाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत तनहुँले बिहीबार आदेश दिएको हो।
थुनछेक बहस सकिएपछि तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।