सलमान खान र चिरञ्जीवी तेजा स्टारर फिल्म ‘गडफादर’को छायाङ्कन सुरु भएको छ ।
चिरञ्जीवी र सलमानले कर्जतको एनडी स्टुडियोबाट सँगै सुटिङ सुरु गरेका हुन् । बुधबार चिरञ्जीवीले एक तस्बिर सेयर गर्दै सलमानलाई ‘गडफादर’को सुटिङ सेटमा स्वागत गरेका थिए ।
सलमान खानले हालै कट्रिना कैफ र इमरान हास्मीसँग आफ्नो बहुप्रतीक्षित फिल्म ‘टाइगर ३’ को सुटिङ पूरा गरेका छन् । मिडिया रिपोर्टका अनुसार फिल्म ‘गडफादर’को सुटिङ जनवरीमा हुने भनिएको थियो । तर चिरञ्जीवीलाई कोभिड–१९ पोजिटिभ देखिएकाले सुटिङ स्थगित गरिएको थियो ।
‘गडफादर’को सुटिङ स्थगित भएपछि सलमान ‘टाइगर ३’को सुटिङमा फर्किएका हुन् । अहिले एक हप्ताको सुटिङ सेड्युल बनाएर चिरञ्जीवी र सलमानले एनडी स्टुडियोमा फिल्मको ‘ड्रामाटिक’ र ‘एक्सन सिन’को छायाङ्कन सुरु गरेका छन् ।
फिल्म ‘गडफादर’ मल्यालम फिल्म ‘लुसिफर’को रिमेक हो । फिल्ममा मोहनलाल मुख्य भूमिकामा थिए भने फिल्ममा पृथ्वीराज सुकुमारनको ‘केमियो’ थियो । ‘गडफादर’ मा सलमानको ‘केमियो रोल’हुने छ ।
बलिउड मिडिया पिङ्कभिल्लाका अनुसार सलमान खानलाई फिल्ममा १५ मिनेटको स्क्रिन टाइम दिइएको छ । यो फिल्मबाट उनको तेलुगु फिल्म इन्डस्ट्रीमा डेब्यु हुने छ । ‘गडफादर’ मा नयनतारा र सत्यदेव कञ्चरानाको पनि अभिनय रहने छ ।
कोनिडेला प्रोडक्सन कम्पनी र सुपर गुड फिल्म्सले निर्माण गरेको फिल्मलाई मोहन राजाले निर्देशन गर्दै छन् ।