
काठमाडौं : करिब ३ वर्ष अघि एउटा गीत निकै रुचाइयो। फरक प्याटर्नको गीत नेपाली सांगीतिक बजारमा आएछ भनेर धेरैको ध्यान खिचियो त्यो बेला। उक्त गीत थियो “जाम सुस्तै” बोलको गीत।
“दिन वित्यो महिना वित्यो वर्ष पनि वित्यो
विर्सिएर गएपनि तिम्रै यादले जित्यो“
“जाम सुस्तै
विर्सनेलाई सम्झिने
म उस्तै”
यो गीत गाएका थिए रवि कार्कीले। त्यसो त, रविका अलवा गायक वसन्त थापा र गायिका जुना श्रीषमगरको पनि गीतमा आवाज छ। रिलिज भएलगत्तै यो गीतले सर्वत्र चर्चा पायो। यस् गीतका गायक रवि कार्की नै गीतको प्रस्तुतकर्ता थिए। जसका कारण रविलाई गीत अझ दर्शक स्रोतामाझ चिनिने मौका मिल्यो।
मौलिक अनि मेलोडियस लाग्ने यो गीतबाट रुचाइएका रविबाट दर्शक स्रोताले मौलिकपन बोकेका गीत अपेक्षा गर्न थाले। फलस्वरूप रविले दर्शक स्रोताको चाहलाई मध्यनजर गर्दै करिब ३ वर्षपछि एउटा नयाँ मौलिक गीतबाट गायनमा कमव्याक गरेका छन् ।
गायनमा कमव्याक गरेको नयाँ गीत हो “साइँली सलक्कै” बोलको गीत। त्यसो त, रविले १ वर्ष अघि एउटा वियोगान्त गीत बजारमा ल्याएका थिए। तर दर्शक स्रोताले “जाम सुस्तै” प्याटर्नको मौलिकपन बोकेको गीत रविबाट अपेक्षा गरिरहेका थिए। तर्सथ, “साइली सलक्कै”बाट रविको कमव्याक भयो भन्दा फरक नपर्ला।
बिहीबार रिलिज भएको गीतमा रवि कार्कीकै सुमधुर आवाज रहेको छ। रविका अलवा लोकप्रिय गायिका शान्तिश्री परियारको पनि सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। प्रविन खत्री “ठुले” गीतका गीतकार हुन् ।भने, संगीत रवि स्वयंले नै दिएका छन् ।
“गरे पनि मायाले स्पर्श
आयु बढे झैं हुन्छ बीस वर्ष”
“साइँली सलक्कै
देखे गाल पर्ला
बस अलक्कै”
गीतका शब्द प्रेमिल अनि शृङ्गारिक छन् । गीतको मेलोडी मौलिक छ। रवि र शान्तीश्रीको आवाज उत्कृष्ट सुनिएको छ।तथापि, रवि र शान्तिको स्वर यस् अघिका गीतमा भएको आवाज भन्दा अलि अर्कै अर्कै होकि भन्ने आभाष हुन्छ गीतको अडियो सुन्दा।
गायक रवि कार्कीका अनुसार गण्डकी प्रदेश तिर असाध्यै प्रचलित लोकोक्ती हो यो गीत। प्रायः बालबालिका , वयस्क देखि वृद्धसम्मकाले “साइँली सलक्कै” पछाडि विभिन्न शब्दहरू जोडेर गीति लयमा गाउने गर्छन् ।
यो गीतमा समावेश भाका गाउँघरमा गाइने भाका भएपनि वास्तविक सर्जकलाई सम्मान गर्दै भाका अनि शब्दहरू परिमार्जित गरेर बजारमा ल्याएको रविले फिल्मीपत्रको कुराकानीमा बताए।
उनले भने , “म आफू पनि मौलिक गीत बढी सुन्छु र गाउँछु पनि । मलाई दर्शक स्रोताले मौलिक गीतमै बढी रुचाउनुहुन्छ । त्यसैले, मौलिकपनलाई निरन्तरता दिँदै “साइँली सलक्कै” गीत बजारमा ल्याएको हुँ। व्यवसायिक हिसावले भन्दा पनि विशुद्ध आत्मसन्तुष्टिका लागि यो गीत मैले गरेको हुँ। आशा छ दर्शक स्रोताले रुचाइदिनु हुनेछ।”
गीतको अडियो जति दमदार छ, भिडियो झन आकर्षक बनाइएको छ। मौलिकपनलाई भिडियोमा देखाइएको छ। कलाकार सुधीर श्रेष्ठ र जुना सुन्दास भिडियोमा फिचर्ड छन् । एउटा गाउँले कथा सहितको डान्सिङ मुडमा सुधीर र जुनालाई भिडियोमा देख्न सकिन्छ।
अडियो जस्तै भिडियो पनि मौलिक छ। भिडियोलाई युवा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । त्यस्तै, आकर्षक फ्रेममा नवराज उप्रेतीले भिडियो खिचेका हुन् ।भने, मनोज कार्कीले सम्पादन गरेका छन् ।
गीतलाई रविले आफ्नै “रवि कार्की” नामक युट्युब च्यानलबाट रिलिज गरेका हुन् । यस् भन्दा अघि “जाम सुस्तै, बेनी बजार झर, माया के रैछ, धुप दिप आरति” जस्ता दर्जनौं लोकप्रिय गीत रविले बजारमा ल्याइसकेका छन् ।
अब यो नयाँ गीतलाई दर्शक स्रोताले कत्तिको रुचाउँछन् त्यो त, केही समय कुर्नैपर्छ। संख्यात्मक भन्दा पनि गुणात्मक गीत गाउन रुचाउने रविले यो गीतबाट दर्शक स्रोताबाट ठिकै साथको अपेक्षा गरेको बताउँछन् ।