नेपालगन्ज : नायिका पूजा शर्मा र नायक पल शाह स्टारर चलचित्र “म यस्तो गीत गाउँछु २” यतिबेला हलमा दोस्रो हप्तामा चलिरहेको छ। प्रदर्शनकै दिनदेखि दर्शकको अथाह साथ पाइरहेको चलचित्रले अझैपनि उच्च साथ दर्शकको पाइरहेको छ।
दर्शकहरूको मायालाई मध्यनजर गर्दै निर्माण टिम पनि देशका विभिन्न हलहरुमा पुगेर दर्शकसंग प्रत्यक्ष भेटघाट गरिरहेको छ। नायिका पूजा शर्मा स्वयं दर्शकसंग अन्तरक्रिया गरिरहेकी छिन् । यसैक्रममा, दर्शक भेट्न र दर्शकसंगै बसेर चलचित्र हेर्नको लागि पूजा लगायतको टिम आज (मंगलबार) नेपालगन्ज आउँदैछ।
नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजमा मंगलबार दिउँसो १२ र ३ बजेको शो पूजाले दर्शकसंग बसेर हेर्नेछिन। पूजा नेपालगन्ज आउने भएपछि नेपालगन्जका दर्शक निकै उत्साहित पनि छन् ।
पूजासंगै चलचित्र “म यस्तो गीत गाउँछु २”का निर्देशक सुदर्शन थापा, कलाकार शोभित बस्नेत लगायत पनि नेपालगन्ज आउने बताइएको छ।
गत फाल्गुन १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको अत्याधिक साथ पाउँदै बकस अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल भएको छ।
चलचित्रले पहिलो हप्ता ५ करोड बढी कमाई गर्न सफल भएको निर्माण टिमले जनाएको छ। अब दोस्रो हप्तामा कति कमाउन सफल भयो त्यो त केही दिनमा थाहा होला।
यता चलचित्रले भव्य सफलता पाइरहँदा यस् चलचित्रका नायक पल शाह भने प्रहरी हिरासतमा छन। एक नाबालिक गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पल यतिबेला हिरासतमा छन् ।
सुदर्शन थापाको निर्देशन एवम कथा रहेको चलचित्रमा म्युजिकल लभ स्टोरीलाई देखाइएको छ।
चलचित्रमा पल र पुजाका अलवा हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय रहेकोछ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।